काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलमा सभापति शेरबहादुर देउवाका विरुद्ध संस्थापनइतर पक्षले साझा उम्मेदवार बनाउने प्रयास थालेको छ। संसदीय दलको नेताका लागि नेता डा शेखर कोइरालाका साथै महामन्त्री गगन थापा आकांक्षी देखिएपछि एकलाई सर्वसम्मत गराउने पहल उक्त पक्षले थालेको हो।
उक्त पक्षका नेताहरु उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, नेता चन्द्र भण्डारीलगायतको पहलमा छलफल सुरु भएको छ। सोमबार बिहान कोइराला र थापाले २ घन्टा छलफल गरेका छन्। २ जना मात्रै सहभागी छलफलमा २ मध्ये १ जना अघि बढ्ने कुरामा सकारात्मक छलफल रहेको कोइरालानिकट एक नेताले जानकारी दिए।
ती नेताका अनुसार मंगलबार अपराह्न ४ बजे देउवाइतर पक्षका नेताहरुको सामूहिक छलफल हुनेछ। दुवैजना उठ्दा परिवर्तनको अपेक्षा पूरा नहुने भन्दै देउवाइतरका नेताहरुले १ जना मात्रै उम्मेदवार बनाउन दबाब दिइरहेका छन्।
महामन्त्री थापाले संसदीय दलको नेता बनेर प्रधानमन्त्रीका लागि दाबी गर्ने घोषणा चुनावअघि नै गरेका छन् भने कोइरालाले घोषणा गरेका छैनन्। भित्री रुपमा उम्मेदवार बन्नेगरी छलफल गरिरहेका छन्।