काठमाडौँ – कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको खेल आज राति नेपालको समय १२ः४५ देखि अल बेत स्टेडियममा सुरु हुनेछ । फ्रान्सले क्वार्टरफाइनलमा इंग्ल्याण्डलाई २–१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो । पहिलोपटक सेमिफाइनल पुगेको मोरक्कोले क्वार्टरफाइनलमा पोर्चुगललाई १–० ले पाखा लगायो ।
उत्कृष्ट लयमा रहेका यी दुई टिमबीचको सेमिफाइनल भिडन्त रोमाञ्चक हुने अनुमान गरिएको छ । जारी विश्वकपमा मोरक्को अपराजित छ । उसले प्रतियोगितामा एक गोल मात्र बेहोरेको छ त्यो पनि आत्मघाती ।
हालसम्म मोरक्को र फ्रान्सले ११ खेलमा एकअर्काविरुद्ध खेलेका छन् । जसमा फ्रान्सले सात खेलमा जित निकालेको छ । उसले तीन खेलमा बराबरी खेल्दा एक खेलमा भने मोरक्कोसँग हार बेहोरेको छ ।
यी दुई टिमले पहिलोपटक सन् १९६३ मा एकअर्काविरुद्ध खेलेका थिए । सो खेलमा मोरक्कोले फ्रान्सलाई २–१ ले हरायो । त्यसयता भने उसले फ्रान्सलाई हराउन सकेको छैन ।
यी दुई टिमले पछिल्लोपटक सन् २००७ मा एकअर्काविरुद्ध खेलेका थिए । सो मैत्रीपूर्ण खेल २–२ को बराबरीमा सकिएको थियो । हालसम्म मोरक्को र फ्रान्सले विश्वकपमा एकअर्काको सामना गरेका छैनन् । आज राति दुवै टिम विश्वकपको पहिलो भेटमै जित निकाल्दै फाइनलको यात्रा गर्ने योजनामा छन् ।