काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पशुपति शमशेर जबरालाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ । क्लस्टर मिलाएर निर्वाचन आयोगमा समानुपातिक सूची तयार गर्ने क्रममा प्रतिनिधि सभाको समानुपातिकतर्फ पुरूषमा नेता पशुपतिशमशेर जबराको नाम टुंगो लगाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
शनिवार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दोस्रो पुरूषको नामका विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्रलाई लिङ्देनले दिइएको उनले बताए । राप्रपाले प्रतिनिधि सभातर्फ समानुपातिकतर्फ ७ सीट पाएको छ । त्यसमध्ये ५ जना महिला र २ जना पुरुषको नाम निर्वाचन आयोगमा बुझाउनुपर्ने छ ।
राप्रपाले सामानुपातिक सांसद बनाउने भएको जबरा लगातार तेस्रो पटक चुनाव हारेपछि समानुपातिक सांसद बन्ने भएका हुन् । राणा २०३८ सालदेखि निर्वाचनमा उम्मेदवार हुन थालेका हुन् । त्यसयता २०६४ सालसम्म उनले निरन्तर चुनाव जित्दै आएका थिए । २०६४ को पहिलो संविधानसभा चुनावमा सिन्धुपाल्चोक–३ बाट माओवादी केन्द्रका दावा तामाङले चुनाव जितेका थिए । राणा भने तेस्रो स्थानमा सीमित भएका थिए ।
२०७० को संविधान सभा निर्वाचनमा एमालेका शेरबहादुर तामाङसँग राणा पराजित भएका थिए । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा राणा कांग्रेस सहयोगमा उम्मेदवार भए पनि तत्कालीन वाम गठबन्धनका उम्मेदवार तामाङसँग पराजित भएका थिए । यस पटक भने राणाले प्रत्यक्ष उम्मेदवार बन्ने रुची देखाएनन् र समानुपातिक रोजे । अन्ततः उनी सामानुपातिकतर्फबाट सांसद बन्ने भएका छन् । राणा उमेरले ८१ वर्षका भए ।