काठमाडौं – नेकपा माओवादी केन्द्रले सत्ता समीकरणमा स्वतन्त्रबाट निर्वाचित सांसद प्रभु शाहको साथ खोजेको छ। पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण बलियो बनाउन स्वतन्त्र र साना दललाई साथमा लिने प्रयासरत छन् ।
यसैबीच प्रचण्डले बिहीबार बिहान स्वतन्त्रबाट निर्वाचित सांसद प्रभु शाहलाई भेट गरेका हुन्। भेटको क्रममा अर्थमन्त्री एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा समेत सहभागी भएको खुमलटार स्रोतले जनाएको छ। उनीहरुबीच समसामयिक राजनीतिक घटनाक्रम र भावी सरकार गठनको विषयमा छलफल भएको छ। भेटमा शाहले प्रचण्डको प्रस्तावलाई सकरात्मक रुपमा लिएका छन्।
तत्कालीन नेकपा विभाजन हुँदा शाह माओवादी केन्द्रमा नगई एमालेमै बसेका थिए। तर प्रतिनिधि सभाको निर्वाचनको मनोनयनको दिन अन्तिममा प्रभु शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। तत्कालीन नेकपा एमालेका नेता शाहको टिमले रौतहटमा एमाले र जनता समाजवादी पार्टीबीच तालमेल हुँदा जसपाको भागमा परेका सबै क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएको थियो। शाहसँगै रौतहट क्षेत्र नम्बर २ बाट उम्मेदवार दिएका किरण शाहसमेत प्रतिनिधिसभामा निर्वाचित भएका छन्।
एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि सत्ता गठबन्धनले निर्वाचनमा प्रभु शाहलाई समर्थन गरेको थियो। गठबन्धनले सिट बाँडफाँट गर्दा रौतहटको क्षेत्र नं. ३ मा प्रतिनिधिसभा उम्मेदवार माओवादी केन्द्रको भागमा परेको थियो। माओवादीका उम्मेदवार रविन्द्र पटेल धिरजले उम्मेदवारी फिर्ता नलिएपछि माओवादी केन्द्रले उनलाई कारबाहीसमेत गरेको थियो ।
यस अगाडि प्रचण्डले जेलमा रहेका रेशम चौधरी, जनमत पार्टीका अध्यक्ष एवम् सांसद सिके राउतसँग पनि भेटवार्ता गरेका थिए।