हालैमा सम्पन्न निर्वाचनको अन्तिम परिणाम आउने क्रम करीव सकिनै लाग्दा नेपाली राजनीतिले लिने संभावित आगामी कोर्स बारे सहजै आंकलन गर्न सकिन्छ । ठूला एवं पुराना भनिएका दलहरुबाट वाक्क, दिक्क र चरम निराशा एवं बितृष्णा ब्यहोर्दै आएका एक खालको जमातले यसपाली नयाँलाई रोजेका छन् । यो रोजाईमा नेपाली जनताको प्रतिनिधिमुलक मनोविज्ञान झल्किन्छ र वैकल्पिक शक्ति आवश्यक छ भन्ने उदघोष पाईन्छ । तथापि सो अनुरुपको परिपक्वता र आडभरोसाका लागि नयाँ दलहरु सक्षम छन् भनेर अहिलै भनिहाल्न सक्ने अवस्था भने छैन र त्यस्तो अपेक्षा गर्न पनि सकिदैन । यसको मतलव पुराना र ठूला भनिएका दलहरु नै ठीक भन्ने कदापि होइन, उनीहरु त झन पूरै सुधारिनु जरुरी छ, नत्र भविष्य छैन भन्ने यसपालीको चुनावी परिणामको अर्को स्पष्ट सन्देश हो ।
निर्वाचनको परिणाम अनुसार अब सरकार बनाउन पुग्ने सुबिधाजनक बहुमत कुनै दलसंग पनि नहुने निश्चित भएकोले फेरी मिलीजुली सरकार बनाउनुको विकल्प देखिदैन । अहिलेसम्मको परिदृश्य हेर्दा विद्यमान सत्तापक्षीय गठबन्धनबाट वा बाहिरबाट नेतृत्व गर्ने गरी सरकार निर्माणको स्वभाविक पहल हुने छ । जसअनुसार सत्तामा जाने र सरकार ढाल्ने दलहरुबीचको फोहोरी चलखेल फेरि सुरु हुने संकेत सतहमा देखिन थालेका छन् । राजनैतिक अस्थिरताको चक्रब्युहबाट लामो समयदेखि गुज्रदै आएको नेपालका लागि यो शुभसंकेत मान्न सकिदैंन । दुई वा दुईभन्दा धेरै दलहरुबाट बन्ने सरकारमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, मन्त्रालयको भागबण्डा, संबैधानिक नियुक्तिका भागबण्डा लगायतका बिषयले दलहरुबीच थप किचलो निम्तने प्रष्ट छ । राजनैतिक स्थिरताका लागि बहुमतको सरकार र बहुमतको सरकारका लागि कुनै दलविशेष वा गठबन्धनलाई जनताले म्याण्डेट दिनुपर्नेमा यो पटकको निर्वाचनमा यो अवसर प्राप्त गर्न ठूला एवं पुराना भनिएका दलहरु नराम्रोसंग चुकेका छन् । विगतमा गरेका गल्ती, कमीकमजोरी, दम्भ र उन्मादको सजायँ स्वरुप नेपाली जनताले उनीहरुको हैसियत राम्रैसंग खुम्चाईदिएका छन् । ती दलहरु जसले विगतको विरासत जोगाउन नसकेर आजको अवस्थामा थचारिन आईपुगेका छन् उनीहरु अझै चेतेनन् र आफुलाई सुधारेनन् भने अझै पुड्को हुँदै जाने र झन सानो कोटरीमा सीमित हुने दिन नआउला भन्न सकिदैंन ।
नयाँ उदाएका दलहरुमाथि पनि तत्काल बिश्वास गर्न सकिने बलियो आधार केही देखिदैन । भावनात्मक आवेशमा एकातिरको रिस एकातिर खन्याउँदा पाएको मतका कारण प्राप्त बिजय र उनीहरुको राजनैतिक यात्राले कस्तो मोड लिन्छ अहिलै केही भन्न सक्ने अवस्था छैन । भनिन्छ, भिड र भ्रमको आयु लामो हुँदैन, मतदाताहरुले एकपटक टेष्ट गरेर हेरौं न त भन्ने ध्येयले नयाँ भनिएकाहरुलाई जिताएको देखिन्छ । उनीहरुले नेपाली जनतालाई अहिलेसम्म आफ्नो पार्टीको वैचारिक सिद्धान्त, दृष्टिकोण, कार्यदिशा र राजनैतिक गन्तब्यको स्पष्ट खाका दिन सकेका छैनन्, उनीहरु आफै अझै अन्यौलमा देखिन्छन् । त्यसो भएको हुँदा उनीहरु सरकारमा जाने भन्दा आफ्नो पार्टीलाई ब्यवस्थित गर्ने र सांगठानिक संरचना निर्माण गर्नतिरै ध्यान केन्द्रित गर्ने छनक देखिन्छ ।
यो चुनावी परिणामबाट देशमा अबको पाँच वर्षको राजनैतिक कोर्स र त्यसले कोर्ने चित्रको प्रक्षेपण गर्नुपर्दा शान्ति, सुशासन र समृद्धिको राष्ट्रिय संकल्पलाई जुरुक्कै माथि उठाउने जस्ता ठूला अपेक्षा गर्न नसकिएता पनि संसदीय अभ्यासमै रुमल्लिएर एकअर्कालाई खबरदारी गर्दै नेपाली समाजको पुरातनवादी राजनैतिक चेत र मनोविज्ञानलाई भने अझै तिखार्ने काम अवश्य हुने बिश्वास गर्न सकिन्छ । जसले गर्दा राजनैतिक वृत्तमा जबरजस्ती उठेको युवा नेतृत्वको मागलाई सम्बोधन गर्ने अपेक्षा गर्न सकिएला । राजनीति र नेतृत्वको सवालमा युवाको परिभाषा उमेरलाई मात्रै इंगित गर्दैन, यो त सोच र चेतको बिषय हो भन्ने भेउ नपाउञ्जेल नारामा मात्रै युवा भनिएता पनि चेतनाको स्तरमा ध्यान दिन सकेनौ भने देशको राजनीति सँधै अहिलेको जस्तै खिचडी एवं गञ्जागोल भईरहने निश्चित छ । त्यसैले नेपाली समाजको मनोविज्ञानलाई उन्नत बनाउन र उनीहरुको सोच र चेतलाई समयसापेक्ष बनाउनेतर्फ पनि दलहरुको ध्यान जानु आवश्यक छ । मकै रोपेर गहुँ फलाउने चेष्टा गरिएझै सोही अनुसारको गृहकार्य र तयारी बिना बहुमतको सरकारको अपेक्षा गर्न सकिदैन ।***