अबको पाँच वर्षका लागि देशको राजनैतिक कोर्सको निर्धारण गर्ने मंसिर ४ नजिकिदैं गर्दा प्रवासमा रहेका हामी नेपालीहरुलाई पनि चासो, चिन्ता र सरोकार हुनु स्वभाविकै हो । सचेत मतदाताहरुको ठूलो हिस्सा विदेशमा छ भन्दा फरक नपर्ला । जुन हिस्सा यदि स्वदेशमै हुन्थ्यो भने निर्णायक भूमिकामा ठोस टेवा पुर्याउन सकिन्थ्यो भन्न सकिन्छ । दशकौंदेखि ब्याप्त राजनैतिक अस्थिरताका कारण देश बिकासमा अवरोध सिर्जना भएको हरेक सचेत नेपालीलाई अवगत छ । हरेक पाँच वर्षमा आउने आवधिक निर्बाचनमार्फत जनताले आफ्नो मतको सहि सदुपयोग गरेर दलहरुको हैसियत कायम गरिदिन सक्दछन् । यतिबेला हाम्रोसामु सोही अवसर आएको छ । मुश्किलले आउने यस्तो अवसरमा अब देशको बागडोर सम्हाल्ने जिम्मा कुन दल वा शक्तिलाई प्रदान गर्ने भन्ने हरेक सचेत नेपालीहरुले गम्भीर भएर सोच्ने बेला हो यो । अर्को पाँच वर्ष फेरि पछुताउन नपर्ने गरी सहि विवेकको प्रयोग गर्न गराउन हामी प्रवासबाटै भए पनि संभावित पहलहरु गर्न सक्छौ, यस कार्यमा हाम्रो सक्रियता र सकारात्मक भूमिका अपरिहार्य देखिन्छ ।
समय परिवर्तनशील छ, परिवर्तित समय र सन्दर्भमा मुलुक र जनताको हितको खातिर कथाले मागेमा हामी पुर्ख्यौली पदचाप पछ्याईरहनु पर्छ भन्ने छैन, दिशा परिवर्तन गर्न पनि तयार हुनुपर्छ । लामो समयदेखि नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट देशमा आधारभुत तहमा प्रणाली परिवर्तन त भयो तर प्रणालीले ब्यवस्था गरेअनुरुपको जनताका जनजिबिका र रोजीरोटीसंग सम्बन्धित अवस्थामा परिवर्तन भएन । यसो हुनुमा मुख्यतयाः पात्र र प्रवृत्ति दोषी देखिन्छन् । नीतिहरुको पनि मुलनीति राजनीति सङ्लो नहुँदा यो समस्या झांगिदै गएको पाईन्छ । खोटा सिक्कालाई जनताको भोटद्वारा पटक पटक लालमोहर लगाएर चोख्याउने काम विगतमा जो भएको छ, जसले गर्दा देश र जनताको हविगत अहिलेको हालतमा आईपुगेको तीतो सत्यलाई मनन् गर्दै अब पुनः गल्ती नदोहोर्याउने हो भने देश उभों लाग्न बेर लाग्दैन ।
नेपालीलाई चाहिएको भनेको शान्ति र सुशासन सहितको समृद्धि ने हो । यसको ग्यारेन्टी पहिलो सर्त हुनुपर्छ, उधारो सपनामा अमुल्य मत खेर फाल्नु भनेको उज्यालो भविष्यलाई छोडेर अन्धकार भविष्यलाई रोज्नु हो । त्यसैले निर्वाचनको बेला भोट आकर्षित गर्न जे जस्तो खोक्रा नारा लगाए पनि उनीहरुको विगत, क्षमता र इच्छाशक्ति हेरेर आफ्नो मतको सदुपयोग गर्न आफ्नो घरपरिवार, साथीभाइ र आफन्तलाई सरसल्लाह मात्र दिन सक्यौं भने यसले निकै ठूलो अर्थ राख्दछ ।
यसपटकको निर्वाचन हरेक हिसाबले महत्वपूर्ण त छँदै छ । निर्वाचनले लोकतन्त्रको निरन्तरतालाई सुनिश्चित गर्नुका साथै राजनीतिक दल र त्यसको नेतृत्व क्षमताको पनि मूल्याङ्कन पनि गर्छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनताले दशकौंदेखि सँधै राजनीति र उम्मेदवारलाई आशा, भरोसा र विश्वास दिए । तर विश्वास दिएकै दिनदेखि उनीहरुको अपेक्षामाथि निर्लज्ज प्रहार यहाँको नियति बनेको छ ।
हालसम्मको गतिबिधि हेर्दा असफल प्रमाणित भइसकेका नेतृत्वको विकल्प दिने कुनै छाँट देखिदैंन । निर्वाचनका लागि जे-जस्ता गठबन्धन बनेका छन् तिनीहरू देशको आर्थिक-सामाजिक रूपान्तरणका लागि नभएर निर्वाचनपछि को प्रधानमन्त्री हुने र को-को राष्ट्रपति, उपराष्ट्रपति वा मन्त्री बन्ने भन्ने प्रयोजनका लागि भएको देखिन्छ ।
मान्छेले घर बदल्छ, साथी बदल्छ तर पनि दुखी नै हुन्छ किन भने उसले आफूलाई बदल्न सक्दैन । हुन त आशा र भविष्यबिनाको समाज जीवन्त रहन सक्दैन, त्यसकारण आशावादी हुन आवश्यक छ । तर आशावादिता यथार्थमा आधारित हुनुपर्छ । नेपालको उन्नति, प्रगति र वास्तविक समृद्धिका लागि ठोस र इमान्दार प्रयत्नको आवश्यकता छ । यसपटकको निर्वाचन र यसको परिणामले देशमा उज्यालो भविष्यको सुनिश्चित गर्न सकोस् भन्ने अपेक्षा गरौं ।***