काठमाडौँ – अस्ट्रेलियामा नेपाली कलाकारको भिड चलिरहेको बेला केही अलग र फरक प्रस्तूती लिएर नवीन के भट्टराई र सुगम पोखरेल र आदेश पौडेलसहित टोली अष्ट्रेलिया आएको छ।असल्यान्ड र नेपसिड्नी राइडर्सको आयोजनामा यी कलाकारहरू ‘दसैं धमाका’ का लागि अस्ट्रेलिया भ्रमणमा आएका हुन्। सिडनी आइपुगेका कलाकारलाई बिहिबार एक्स्ट्राटेक कलेजले स्वागत गरेको छ। कार्यक्रममा गैर आवासीय नेपाली संघका ओसेनिया संयोजक दिनेशराज जोशी, एक्स्ट्राटेकका कार्यकारी विनोद कुँवर, निर्देशकहरू सन्तोष श्रेष्ठ, सुनिल सिग्देल र सुदिच्छा गौतम लगायतले फूलमाला र खादाले कलाकारलाई स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै एनआरएन ओसनिया संयोजक दिनेशराज जोशीले कलाकार राष्ट्रका गहना मात्र नभइ देशका मानार्थ राजदूत पनि भएको जिकिर गरे। स्वागत कार्यक्रममा बोल्दै एक्स्ट्राटेकका कार्यकारी बिनोद कुँवरले कला साहित्य र भाषा प्रवासी नेपालीलाई मुलुकसँंग जोड्ने महत्वपूर्ण माध्यम भएकोले उनीहरूको सम्मानका असली हकदार भएको बताए। ‘विदेशमा छरिएका नेपालीलाई गीत संगीतको माध्यमबाट मनोरञ्जन दिने मात्र होइन मातृभूमीको झझल्को मेट्ने काम पनि कलाकारले गरेका छन्, जुन महत्वपूर्ण हो,’ उनले भने।स्वागत कार्यक्रममा बोल्दै गायक नवीन के भट्टराईले आफूहरू देश विदेश गइरहँंदा विदेशमा बस्ने नेपालीबाट पाउने न्यानो आतिथ्य र माया सधै संझनायोग्य हुने बताए।
अर्का गायक सुगम पोखरेलले मुलुकको पहिचानको महत्वपूर्ण माध्यम गीत संगीत भएकोले यसको विकास र विस्तारमा प्रवासी नेपालीको भूमिका महत्वपूर्ण रहने चर्चा गरे।कार्यक्रममा आयोजकका तर्फबाट विक्रम दाहालले प्रायोजक एक्स्ट्राटेकलाई धन्यवाद ज्ञापन गरे। अस्ट्रेलिया यात्राको दौरान नवीन, सुगम र आदेशले आगामी चार अक्टोबरमा सिडनीको शार्क होटलमा विशेष प्रस्तुती दिनेछन्। यसैगरि उनीहरूले राजधानी क्यानबेरा, पर्थ, ब्रिजबेनलगायतका शहरमा पनि आफ्नो प्रस्तुती दिनेछन्।