मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

काठमाडौँ –  म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो खेलमा जित निकाल्न सफल भएको छ। नयाँ प्रशिक्षक टेन हेगको नेतृत्वमा रहेको म्यानचेस्टर युनाइटेडले सुरुवातमा लगातार दुई खेल गुमाएको थियो। बिहीबार भएको खेलमा लेस्टर सिटीमाथि १-० ले कठिन जित हासिल गर्दै युनाइटेडले अंक तालिका सुधार गर्‍याे।

लेस्टर सिटी भने जारी सिजन लगातार खराब लयका कारण अंक तालिकाकको पुछारमा छ। प्रतियोगिताको पहिलो खेलमा बराबरी गरेको लेस्टर त्यसयता भने लगातार ४ हार भोग्दै १ अंक बनाएर अंक तालिकाको पुछारमा रहेको छ।

बिहीबार युनाइटेडले जाडोन सान्चोको गोलमार्फत् २३ औँ मिनेटमा अग्रता लिएको थियो। मार्कुस रासफोर्डको पासलाई सान्चोले सदुपयोग गरे। त्यही एक गोल नै निर्णायक बन्दा युनाइटेडले महत्त्वपूर्ण तीन अंक हासिल गरेको थियो।

खेलपछि युनाइटेड पाँचौ नम्बरमा रहेको छ। युनाइटेडको ९ अंक भएको छ। शीर्ष स्थानमा रहेको आर्सनलको ५ खेलमा पाँच जितसहित १५ अंक रहेको छ। दोस्रो स्थानको सिटीकाे ४ जित र १ बराबरीका कारण १३ अंक रहेको छ। त्यस्तै, टोटेन्ह्याम ११ र ब्राइटन १० अंकका साथ तेस्रो र चौथो स्थानमा रहेका छन्।

तपाईको प्रतिक्रिया