बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

काठमाडौं – सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढिरहेकाले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका हुन् ।

उनले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरूलाई कोरोना संक्रमणको दर बढिरहेकाले संक्रमण दर घटाउने तयारी थाल्न निर्देशन दिइसकेको बताए । सहप्रवक्ता अधिकारीले भने, ‘पहिलो लहरमा भारतमा संक्रमणको उच्च बिन्दुमा पुगेको एक महिनाभित्र नेपालमा पनि संक्रमण बढेको अवस्था हामीले भोगेका छौं । दोस्रोमा दुई हप्ता र तेस्रोमा त्योभन्दा पनि कम समयमा भोगेका थियौं । अहिले भारतमा संक्रमण बढ्दै छ भनेपछि हामीकहाँ संवेदनशीलता बढाउनुपर्ने हुन्छ ।’

सहप्रवक्ता अधिकारीले पछिल्लो समय कोरोना संक्रमण दर कम भएसँगै आमसर्वसाधारणले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको भन्दै स्वास्थ्य मापदण्ड पुनः पालना गर्न आवश्यक रहेको बताए । सहप्रवक्ता अधिकारीले अहिले भारतमा फैलिएको कोरोना ओमिक्रोनकै एउटा प्रजाति रहको प्रारम्भिक तथ्य फेला परेको बताए । यसबारेमा अध्ययन-अनुसन्धान भइरहेकोले थप विवरण आउन समय लाग्ने उनले बताए । उनले कोरोनाको रोकथामका लागि विगतमा अपनाएका स्वास्थ्यका प्रोटोकलहरूको पालना गर्नुपर्ने र कोभिडविरुद्धको खोप लगाएर समयमै सावधानी अपनाएमा कोरोनाबाट हुने जोखिमलाई न्यूनीकरण गर्न सकिने बताए ।

सहप्रवक्ता अधिकारीले देश अहिले स्थानीय निर्वाचनमा होमिएकोले यसबाट कोरोनाको जोखिम बढ्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह समेत गरे । उनले स्वास्थ्य मन्त्रालयले निर्वाचनबाट हुन सक्ने कोरोनाको जोखिमलाई कम गर्न निर्वाचन आयोगसँग छलफल गरेर स्वास्थ्यका सावधानीहरू अपनाउन आग्रह गरेको पनि जानकारी दिए ।

तपाईको प्रतिक्रिया