शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – दक्षिणपश्चिम जापानको मियाजाकी सहरको थोक बजारमा अप्रिल १४ तारिक मियाजाकी प्रिफेक्चरको पहिचान मानिने उच्च गुणस्तरको आँपका दुई दाना पाँच लाख येनमा लिलामी भएको छ ।
मियाजाकी प्रिफेक्चरमा फसल गरिएका आँपको लगभग १५ प्रतिशत उच्च श्रेणीको “ताइयो नो तामागो” (सूर्यको अण्डा) ब्रान्डको आँपको रूपमा वर्गीकृत गरिएको छ । ताइयो नो तामागो हुनुको लागि यी आँपका प्रतिदानामा १५ प्रतिशत वा सो भन्दा माथिको मात्रामा सुगर हुनुपर्छ र कम्तिमा साढे ३ सय ग्राम तौल हुनुपर्छ । यसको कटनी अप्रिलको अन्त्यमा तीव्र रूपमा सुरु हुन्छ ।
मियाजाकीमा हरेक वर्ष सबैभन्दा पहिले फलेको विशेष तथा महँगो आँप लिलाम बढाबढमा बिक्री गरिन्छ । यो आँपको पाकेको दाना आधा रातो र आधा पहेँलो हुन्छ ।
आखिर यो आँप किन यतिधेरै महँगो छ त ?
वास्तवमा यो आँपको विरुवा हुर्काउन र फलाउन कठिन छ र निकै मिहिनेत लाग्दछ । जापानी किसानले हरेक आँपका दानालाई एउटा सानो जालीले छोपेका हुन्छन् जसले सूर्यको प्रकाशलाई फलको सबै कोणको पत्रमा समान रूपले ताप प्रसार गर्न तथा फललाई तल खस्न नदिनका लागि लगाइएको हुन्छ । आँप बोटमै पाकिसकेपछि यो जालीमै खसेर अड्किन्छ । भुइँमा खस्न पाउँदैन । त्यसपछि जालीबाट निकालेर त्यसलाई बेचिन्छ ।
यो आँप निकै स्वादिलो तथा रसिलो हुन्छ । यो चकलेटजस्तै गुलियो हुनुका साथै स्वादमा पनि भुइँकटहर तथा नरिवलको मिश्रणजस्तो हुन्छ ।
कृषि सहकारी संस्था जेए मियाजाकीका बिक्री तथा वितरण महाशाखा प्रबन्धक तोमोहिरो इशिकावाले भने, “उत्पादकले महँगो स्रोतका कारण समस्या भोग्नु परे पनि यस वर्ष पनि आँपको गुणस्तर उत्कृष्ट भएको सुनेको छु ।”

तपाईको प्रतिक्रिया