Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – छिमेकी मुलुक भारत र चीनको समुद्री बन्दरगाहबाट अब सिधै मालसामान बोकेका कन्टेनर काठमाडौं आउन बाटो खुलेको छ ।

काठमाडौं उपत्यकाको चोभारमा अवस्थित सुख्खा बन्दरगाह औपचारिक रूपमा सञ्चालनमा आएसँगै व्यवसायीले अन्तर्राष्ट्रिय बन्दरगाहबाट सिधै काठमाडौंमै मालसामान ल्याउन पाउने भएका हुन् । अब स्वदेशी वस्तु निर्यात पनि यही बन्दरगाहबाट नै गर्न सकिने भएको छ ।

नेपाल राष्ट्र बैंकले गत १५ चैतमा विदेशी विनियम कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ लाई संशोधन गर्दै अन्तर्राष्ट्रिय व्यापारका लागि जारी हुने प्रतीतपत्रमा प्रचलित व्यवस्थाबमोजिम चोभारको सुक्खा बन्दरगाह भन्सार कार्यालय नाका हुनेगरीसमेत गर्न सकिने तथा अन्य भन्सार कार्यालयबाट पैठारी गर्ने गरी प्रतीतपत्र जारी भइसकेका मालवस्तुको समेत पैठारीकर्ताको माग भएमा प्रचलित व्यवस्थाबमोजिम चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयको नाममा भन्सार बिन्दु परिवर्तन गर्न सकिने व्यवस्था गरिसकेको थियो ।

निर्माण सम्पन्न भएको आधा वर्षपछि सो राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुख्खा बन्दरगाह मंगलबारबाट औपचारिक सञ्चालनमा आएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार वीरगन्जबाट डिजिटल लक लगाएर आएको मालवाहक कन्टेनर प्रवेश गराएर बन्दरगाहको औपचारिक उद्घाटन गरेका छन् ।

पहिलोपटक वीरगन्ज नाका हुँदै काठमाडौंका लागि मालवस्तु बोकेर आएको तीनवटा कन्टेनरलाई बन्दरगाह भित्र्याउँदै प्रधानमन्त्री देउवाले मंगलबारबाट नवनिर्मित बन्दरगाह सञ्चालनमा ल्याएका हुन् । तेस्रो मुलुकबाट काठमाडौंका लागि मालवस्तु बोकेर आएका ती कन्टेनर वीरगन्ज नाका हुँदै काठमाडौं आएका थिए ।

चोभारस्थित नवनिर्मित बन्दरगाहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले चोभार बन्दरगाह सञ्चालनले काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारको हब बनाउने उद्घोष गरेका छन् । संघीय राजधानी चोभार बन्दरगाह सञ्चालनपछि काठमाडौं अब अन्तर्राष्ट्रिय व्यापारको हब बन्ने अपेक्षा गरिएको बताउँदै उनले सुख्खा बन्दरगाह सञ्चालनमा आएपछि मुलुकको आयात–निर्यात व्यापारमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने काठमाडौं उपत्यकाबाट हुने व्यापारलाई थप सहजीकरण गर्न, व्यापारको लागत घटाउन र वस्तु तथा सेवाको आयात निर्यातलाई थप व्यवस्थित गरी प्रतिस्पर्धा र प्रभावकारी बनाउन पनि सहयोग पुग्ने धारणा राखे ।

प्रधानमन्त्री देउवाले मुलुकको वैदेशिक व्यापारलाई दिगो र सन्तुलित रूपमा विकास गर्न सुख्खा बन्दरगाहजस्ता संरचनाहरूको आवश्यकता पर्ने भन्दै उनले बढ्दो व्यापार घाटालाई कम गर्न स्वदेशी कच्चा पदार्थ, स्वदेशी श्रम र सीपमा आधारित उत्पादनमा जोड दिनुपर्ने बताए । वैदेशिक व्यापारमा रहेका समस्या समाधानका निम्ति सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।

उनले उद्योगी, व्यवसायीलाई उत्पादनशील क्षेत्रमा लगानी गरी निर्यात बढाउन र अनुत्पादक विलासिताका वस्तु आयातलाई व्यवस्थापन गर्न सहयोग गर्न आग्रह पनि गरेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले दैनिक उपभोग हुने खाद्यवस्तु आयातका लागि चोभार बन्दरगाह प्रयोग हुन नहुने बताएका छन् ।

उनले तरकारी, फलफूल, खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तु आयातका लागि यो बन्दरगाह प्रयोग हुन नहुने बताए । चोभार सुख्खा बन्दरगाह सञ्चालन पछि मुलुक स्थलमार्ग भएर समुन्द्री पहुँचमा जोडिएको भन्दै उनले अब नेपालमा उत्पादित वस्तु समुन्द्री तटसम्म सिधै पुग्ने र त्यहाँ लोड भएका मालवस्तु सहजै काठमाडौं आउने बताएका छन् । अर्थमन्त्री शर्माले चोभार सुख्खा बन्दरगाह निर्यातको केन्द्र बन्नुपर्नेमा जोड दिए ।

बन्दरगाह पूर्वाधार सञ्चालनपछि हामी सडकमार्फत समुन्द्री तटसँग जोडिएको र आयातको लागत घट्न यसले ठूलो योगदान गर्ने बताउँदै अर्थमन्त्री शर्माले भने, ‘तर, यो बन्दरगाह खाद्यान्न, तरकारी र फलफूल आयातमा मात्रै केन्द्रित नहोस्, निर्यातको केन्द्र पनि बनोस् ।’

आयातको तुलनामा वस्तु निर्यात निकै कमजोर रहेको भन्दै अर्थमन्त्री शर्माले नेपाली वस्तुहरू चोभार बन्दरगाह भएर निर्यात हुनेगरी काम गर्न निजी क्षेत्रलाई आग्रह गरे । आयात घटाउन र निर्यात बढाउन सबै मिलेर काम गर्नुपर्ने भन्दै उनले सरकार पनि आयात प्रतिस्थापनका लागि काम गरिरहेको बताए ।

यसअघि केही नीतिगत व्यवस्था मिलाउने कार्यमा भएको ढिलाइका कारण गत असारमा निर्माण सम्पन्न भएको चोभारको सुख्खा बन्दरगाह हालसम्म सञ्चालनमा आउन सकेको थिएन । काठमाडौंका व्यवसायीको आयात तथा निर्यात सहजीकरणका लागि चोभारमा सुख्खा बन्दरगाह सञ्चालनमा ल्याइएको हो ।

हाल बन्दरगाहमा आवश्यक भन्सार कार्यालय, क्वारेन्टाइन, बैंकलगायत सबै पूर्वाधारजन्य निकाय आइसकेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । सो समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले यस्तो जानकारी गराएका हुन् ।

विश्व बैंकको ऋण सहयोगमा बनेको बन्दरगाहको कुल लागत १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । २ सय २० रोपनी क्षेत्रफलमा निर्माण भएको यस बन्दरगाहमा ५ सय ट्रक पार्किङ गर्न सकिन्छ । यसैगरी, परियोजनाअन्तर्गत पाँचवटा सयसम्म कन्टेनर राख्न मिल्नेगरी यार्ड बनाइएको छ ।

समितिका निर्देशक गजुरेलका अनुसार यो बन्दरगाहमा चारवटासम्म कन्टेनर खप्टिएर राख्न सकिनेगरी कन्टेनर यार्ड बनाइएको छ । बन्दरगाहमा सवारीसाधन प्रवेशका लागि ठूला तीनवटा गेट बनाइएको छ । यसैगरी, बन्दरगाह क्षेत्रबाहिरको सडकसमेत सुधार गरिएको छ ।

यो बन्दरगाह सञ्चालनमा आएसँगै अब स्थलमार्ग हुँदै गरिने अन्तर्राष्ट्रिय व्यापारको भन्सार जाँच पास काठमाडौंबाटै गर्ने बाटो खुलेको छ । चोभार बन्दरगाह सीमावर्ती क्षेत्रभन्दा बाहिर भित्री सहरमा बनेको पहिलो बन्दरगाह हो । माल वस्तु आयात र निर्यातका लागि भन्सार, क्वारेन्टिन, सुरक्षासहितको सबै पूर्वाधार रहेको यस बन्दरगाहमा ५ सय कन्टेनर र ५ सय ट्रक अट्ने क्षमता छ ।

यो बन्दरगाह सञ्चालनमा आएपछि राजधानी केन्द्रित व्यापारका लागि भारत र चीनको समुद्री बन्दरगाहबाट आउने मालसामान बोकेका कन्टेनर अब सिधै काठमाडौं आउन सक्नेछन् भने स्वस्देशी वस्तु निर्यात पनि यही बन्दरगाहबाट हुनेछ । जसले काठमाडौंका व्यवसायीलाई धेरै लाभ हुनेछ ।

काठमाडौं केन्द्रित व्यवसायीका लागि आयात निर्यातमा महत्वपूर्ण मानिएको चोभारको यस सुख्खा बन्दरगाह नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाअन्तर्गत २ सय २८ रोपनी जग्गामा निर्माणको काम भएको हो ।

निजगढ दुर्त मार्ग, बाहिरी चक्रपथ तथा भविष्यमा निर्माण भएमा दक्षिणमा भारतसँगको रेलमार्ग र उत्तरमा चीनको केरुङ रेलमार्गसँग जोडिने भनिएको यसै बन्दरगाह व्यापारिक गतिविधिका लागि सामरिक महत्वका साथै निकै सस्तो हुने बताइएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया