मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

काठमाडौं – श्रीलंकामा कागज किन्ने पैसा नभएकोले विद्यालय तहको वार्षिक परीक्षा अनिश्चित कालका लागि स्थगित भएको छ । परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने कागज खरिद गर्न सरकारसँग पर्याप्त डलर नभएपछि परीक्षा स्थगित गरिएको हो ।

जसकारण करिब ४५ लाख जना विद्यार्थी सहभागी हुने विद्यालय तहको वार्षिक परीक्षा स्थगित गरिएको श्रीलंकाका शिक्षा अधिकारीहरुलाई उदृत गर्दै अल जजिराले उल्लेख गरेको छ । परीक्षा आउँदो सोमबारदेखि हुने तय भएको थियो । यो परीक्षा विद्यार्थीलाई माथिल्लो कक्षामा बढुवा अर्थात स्तरोन्नती गर्ने वा नगर्ने भन्ने निरन्तर मूल्यांकन प्रक्रियाको एउटा अंश हो ।

सन् १९४८ मा श्रीलंका स्वतन्त्रता भएपछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । प्रश्नपत्रसमेत छाप्न नसकिने अवस्थामा पुगेपछि विद्यालयका प्रधानाध्यापकहरूले परीक्षा लिन अस्वीकार गरेको पश्चिमाञ्चल प्रदेशको शिक्षा विभागले जनाएको छ । श्रीलंकाली शिक्षा विभागले कक्षा ९, १० र ११ को राष्ट्रिय परीक्षा वर्षको अन्तिममा लिँदै आएका थिए ।

तर, यसपालि प्रश्नपत्र नै छाप्न नसकिने अवस्था आएपछि विद्यार्थीलाई परीक्षा नै नलिई अर्को कक्षामा बढुवा गर्ने तयारी गरिएको छ । अत्यावश्यक आयातका लागि विदेशी मुद्रा सञ्चितिको अभावले ल्याएको कमजोर आर्थिक संकटका कारण देशमा खाद्यान्न, इन्धन र औषधिको अभाव देखिएको छ ।

तपाईको प्रतिक्रिया