मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

काठमाडाैं – उत्तर कोरियाले गरेको ‘अज्ञात क्षेप्यास्त्र’को परीक्षण प्रहार असफल भएको देखिएको दक्षिण कोरियाली सेनाले जनाएको छ । राजधानी प्योङ्याङको बाहिर रहेको क्षेत्रबाट सो क्षेप्यास्त्र प्रहार गरिएको थियो ।

सो स्थानबाट यसअघि पनि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको थियो जसमध्ये अन्तर्महादेशीय क्षेप्यास्त्र भएको अमेरिकाले दाबी गरेको थियो । बुधबारको परीक्षण हालैका दिनमा उत्तर कोरियाले हतियार परीक्षण तीव्र पारेको अवस्थामा भएको हो ।

‘उत्तर कोरियाले सुनान क्षेत्रबाट आज ९:३० मा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको थियो तर त्यो प्रहार लगत्तै असफल भएको देखिएको छ,’ सोलका संयुक्त सैन्य बल प्रमुखले एक वक्तव्यमा भनेका छन् । एनके न्यूजले प्योङ्याङ प्रत्यक्षदर्शीले ठूलो विमानको झैँ आवाज सुनेको र लगत्तै ‘पड्किएको’ जस्तो आवाज आएको बताएको लेखेको छ ।

राजधानीको आकाशमा रातो रङ्ग देखिने धुवाँको मुस्लो देखिएको पनि बताइएको छ । एनके न्यूजसँग विज्ञ अंकित पान्डाले अहिलेको परीक्षण को दृश्य पनि असफलताको जस्तै देखिएको बताउँदै रातो खालको पहेँलो धुवाँ तरल इन्धनको हुने र त्यो मानिसका लागि विषालु हुने बताएका छन् ।

उत्तर कोरियाले यो वर्ष मात्रै नौ पटक हतियार परीक्षण गरेको छ । त्यसमा नयाँ अन्तर्महादेशीय क्षेप्यास्त्रको अंश पनि रहेको अमेरिकी दाबी छ । अमेरिकाले उत्तर कोरियाले त्यसलाई अन्तर्महादेशीय क्षेप्यास्त्रको पूर्ण परीक्षणअघि आंशिक प्रयोगात्मक परीक्षण हुनसक्ने बताएको छ ।

तपाईको प्रतिक्रिया