बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

काठमाडौं – नेपाल टेलिकमले एक महिनाभित्रै साढे ८ लाख भन्दा धेरै फोरजीका सेवाग्राहीहरु बढाउन सफल भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको कात्तिक महिनाको एमआईएस रिपोर्टअनुसार टेलिकमले असोज र कात्तिक महिनाको बिचमा साढे ८ लाख भन्दा धेरै फोरजी प्रयोगकर्ता थप गर्न सफल भएको हो ।

नेपाल टेलिकमका साथै निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले पनि एक महिनामा आफ्ना फोरजी ग्राहक सेवा वृद्धि गरेको छ ।

तथ्यांकअनुसार नेपाल टेलिकमले पछिल्लो एक महिनामा फोरजी सेवामा मात्र ८ लाख ५१ हजार ३६५ जना ग्राहक थप गरेको छ । नेपाल टेलिकमसँग असोज महिनामा फोरजीका ग्राहकहरु ६६ लाख ३४ हजार ६५ रहेका थिए । तर कात्तिक महिनामा सो संख्या बढेर ७४ लाख ८५ हजार ४३० जना पुगेका छन् ।

सोहि समयमा एनसेलले भने ८८ हजार ७६४ जना फोरजी ग्राहक थप्न सफल भएको छ । एनसेलसँग असोज महिनामा ६० लाख ५९ हजार ४८० जना फोरजीका ग्राहक थिए भने कात्तिक महिनामा त्यसमा वृद्धि हुँदै ६१ लाख ४८ हजार २४४ जना ग्राहक भएका छन् ।

यस बाहेक स्मार्ट टेलिकमका ग्राहकहरु भने घट्दै गएको देखिन्छ । स्मार्टसँग असोज महिनामा १ लाख ६७ हजार ९६ फोरजीका सेवाग्राही रहेकोमा कात्तिक महिनामा सो संख्या घटेर १ लाख ५३ हजार ७४५ ग्राहकमा सिमित भएको छ ।

स्मार्ट टेलिकमको ग्राहकहरु घट्दै जानुमा कम्पनीको अनुमति पत्र रद्द हुनु कारक रहेको देखिन्छ । कम्पनीले सरकारलाई बाँकी बक्यौता रकम नतिर्दा नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति पत्र खारेज गरीदिएको छ भने सरकारले कम्पनीलाई स्वामित्वमा लिने अवस्थामा पुगेको छ ।

स्मार्टको घटेपनि अन्य दुई अपरेटरहरुले भने फाईदा लिएका छन् ।
समग्रमा फोरजी सेवाका प्रयोगकर्ता देशभर १ करोड ३७ लाख ८७ हजार ४१९ जना पुगेको देखिन्छ ।

यसैबिच फोरजीका सेवाग्राही बढिरहेको बेलामा थ्रीजीका सेवाग्राहीहरुको संख्या भने घटेको छ । थ्रीजीका प्रयोगकर्ताहरु कात्तिक महिनामा कुल १ करोड २४ लाख ५२ हजार ७३३ जना भएका छन् ।

यसअघिको महिनामा थ्रीजी प्रयोगकर्ताहरु १ करोड २५ लाख ८७ हजार ०४७ जना रहेका थिए । थ्रीजी सेवाग्राहीमध्ये सबैभन्दा धेरै नेपाल टेलिकमसँग आबद्द रहेको देखिन्छ ।

तपाईको प्रतिक्रिया