आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं । नेपाली महिला भलिबल टोलीले किर्गिस्तानलाई ३-० को सोझो सेटमा हराउँदै एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको लिग विजेता बन्दै फाइनल पुगेको छ ।

बंगलादेशको ढाकास्थित शाहीदसोह्रावर्दी नेसनल इन्डोर स्टेडियममा नेपालले समूह चरणमा शतप्रतिशत नतिजा निकाल्ने क्रममा सोमबार कीर्तिस्तानलाई २५-८ २५-१५, २५-१७ को सेटमा पराजित गरेको हो । योसँगै नेपालले अब प्रतियोगिताको उपाधिका लागि मंगलबार उज्वेकिस्तानविरुद्ध खेल्नेछ । उज्वेकिस्तानले आजै सम्पन्न खेलमा श्रीलंकालाई ३-२ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

‘हामीले सोझो सेटमा विजय हासिल गरे पनि कीर्गिस्थान राम्रो टोली हो । आज हामीले फाइनल खेललाई मध्यनजर गर्दै सबै खेलाडीलाई मौका दिएका थियौँ । सबै खेलाडीले राम्रो प्रदर्शन गरे’, जितपछि प्रशिक्षक जगदीश भट्टले भने, ‘हामीले समूह चरणमा सबै टोलीलाई हराउन सफल भयौँ । अब फाइनलमा पनि यस्तै नतिजा निकाल्दै उपाधि उचाल्ने विश्वासमा छौँ ।’

नेपाली महिला भलिबल टोली यस प्रतियोगिताको साबिक विजेता टोली हो । अघिल्लो संस्करणमा नेपालले कुनै पनि सेट नगुमाई प्रतियोगिताको उपाधि उचालेको थियो । तर, यसपटक भने नेपाली पहिलो खेलमा श्रीलंकासँग दुई सेट गुमाइसकेको छ । तथापि, नेपाल अपराजित छ ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ ले हराएको थियो । दोस्रो खेलमा बंगलादेशलाई ३-०, तेस्रो खेलमा माल्दिभ्सलाई ३-० र चौथो खेलमा उज्वेकिस्तानलाई ३-० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो । नेपालको पाँच खेलबाट १४ अंक जोड्दा उज्वेकिस्तानको १२ अंक छ । श्रीलंकाले ११ जोड्यो भने कीर्गिस्थानले ९ अंक जोडेको छ । बंगलादेश र माल्दिभ्सको अहिले खेल भइरहेको छ । प्रतियोगितामा तेस्रो स्थानको लागि कीर्गिस्थान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया