आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निर्माण कार्यको ठेक्कासम्बन्धी कागजातमा दिउँसो र राति गरी दुई सिफ्टमा काम गर्नुपर्ने सर्त थपिने जानकारी दिएका छन् ।

बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायसँग छलफल गर्ने क्रममा अर्थ मन्त्रालयले आज आयोजना गरेको राष्ट्रिय योजना आयोगसँगको छलफलमा उनले दिनमा एक सिफ्ट मात्र काम गरेर पुँजीगत खर्च बढाउन नसकिने र पुँजीगत खर्च भएन भने आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन हुने भएकाले दुई सिफ्टमा काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “विकास निर्माणको काम पनि तोकिएको समयमा सम्पन्न हुँदैन । रात्रि सिफ्टमा बत्ती बालेर भए पनि काम गर्नुपर्‍यो, हामीले पनि बेलाबेला नसुतेरै अनुगमन गर्नुपर्‍यो ।” निर्माण कम्पनीलाई उसको कार्यक्षमताभन्दा बढी सङ्ख्यामा ठेक्का दिएर पनि आयोजनाहरू अलपत्र परेको भन्दै उनले अब यससम्बन्धी कानुनमा सुधार ल्याउनुपर्ने धारणा राखे । मन्त्री शर्माले आयोजना बन्नै नसक्ने गरी न्यून कबोल गरेर ठेक्का हात पार्ने तर काम नगरेर आयोजना लथालिङ्ग पार्ने परिपाटीको समेत अन्त्य गरिने बताए ।

बैठकमा मन्त्री शर्माले हाल बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरू सञ्चालन गर्ने तयारी भइरहेको जानकारीसमेत दिए । अर्थ मन्त्रालयका अनुसार धागो उद्योग, कपडा उद्योग, रबर उद्योग, चुरोट कारखानालगायतका बन्द अवस्थाका उद्योग नयाँ ढाँचा बनाएर सञ्चालन गरिने छ ।

तपाईको प्रतिक्रिया