सोमबार, आषाढ ०४, २०८१
Monday, June 17, 2024

काठमाडौँ — यस वर्षको दसैं र तिहारका लागि बुधबारसम्म करिब २५ अर्ब रुपैयाँ बराबर नयाँ नोट नेपाल राष्ट्र बैंकबाट बाहिरिएको छ । राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले गरी उक्त परिमाणमा नयाँ नोट सटही सुविधा लिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए ।

सर्वसाधारणले ५ देखि एक सय रुपैयाँसम्मका करिब ९ अर्ब रुपैयाँ र बैंक तथा वित्तीय संस्थाले ५ सय र हजार दरका करिब १६ अर्ब रुपैयाँ राष्ट्र बैंकबाट लिएका छन् । राष्ट्र बैंकले गत भदौ अन्तिम सातादेखि सर्वसाधारण र असोज ४ देखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन सुरु गरेको थियो । आउँदो सोमबारसम्म नयाँ नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ ।

‘थप ३ अर्ब रुपैयाँको माग आइसकेको छ,’ नेपालले भने, ‘यसका आधारमा यो वर्ष करिब ३० अर्ब रुपैयाँको नयाँ नोट बाहिरिने अनुमान गरेका छौं ।’ कोरोनाका कारण गत वर्ष राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन । अघिल्लो वर्ष पनि बैंक तथा वित्तीय संस्था र सर्वसाधारणलाई गरी करिब ३० अर्ब रुपैयाँ नयाँ नोट राष्ट्र बैंकबाट बाहिरिएको थियो ।

यो वर्ष राष्ट्र बैंकले सर्वसाधारणलाई प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण गरेको छ । यो ५ देखि १ सय रुपैयाँसम्मको एक/एकवटा बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट सटही दिएको छ । सम्बद्ध बैंकमा ढुकुटीको क्षमता, ग्राहकको मागलगायत आधारमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थालाई उल्लिखित रकम प्रदान गरिँदै आएको राष्ट्र बैंकले जनाएको छ ।

दसैं र तिहारको अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनले बनेका सिक्का (चाँदीका स्मारिका सिक्का र सुनका असर्फी) पनि धेरै बिक्री हुँदै आएको छ । दसैं र तिहारका लागि नयाँ नोटको माग बढ्दो छ । मागअनुसार राष्ट्र बैंकले बर्सेनि वितरण गरिने नयाँ नोटको परिणाम पनि बढाउँदै आएको छ । यसले बजारमा मुद्रा आपूर्ति बढाउँछ । यसको अर्थ नागरिकको हातहातमा धेरै पैसा पुग्छ । हात हातमा पैसा भएपछि खर्च गर्ने प्रवृत्ति बढ्छ । खर्च गर्ने क्षमता बढेपछि माग बढ्छ ।

माग बढेपछि बजारमा वस्तु तथा सेवाको मूल्य बढ्छ । यसले समग्र राष्ट्रको मूल्य वृद्धिदर बढाउँछ । मूल्य वृद्धिदर बढ्नु भनेको पैसाको क्रयशक्ति (भाउ) घट्नु हो । यसकारण पैसाको मूल्य तीव्र रूपमा घट्न नदिन अर्थशास्त्री सुझाउँछन् । नयाँ नोट वितरण राष्ट्र बैंकका लागि चुनौतीपूर्ण बन्दै गएको उनीहरूले बताएका छन् । राष्ट्र बैंकले नोट छपाइ, वितरण तथा व्यवस्थापनमा वार्षिक करिब ३ अर्ब रुपैयाँ खर्च गर्छ । नोटको माग बढेअनुसार यस्तो खर्च पनि बढ्छ । यसले राष्ट्रको व्ययभार बढाउँछ । यो क्षेत्रमा गरिने लगानी तुलनात्मक रूपमा अनुत्पादक मानिन्छ । नोटको आयु यति नै वर्ष हुन्छ भन्ने नतोकिए पनि जतनले उपयोग गरे धेरै वर्षसम्म टिकाउन सकिन्छ ।
तपाईको प्रतिक्रिया