बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं — मुलुकको तेस्रो प्रमुख नाकाको रूपमा रहेको विराटनगर भन्सार कार्यालयबाट आयात बढ्दै गएको छ । यो भन्सारबाट गत आर्थिक वर्ष २०७७÷७८ मा १ खर्ब ८९ अर्ब ६५ करोड ६८ लाखको सामान आयात हुँदा ३६ अर्ब ९० करोड ६७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । उक्त तथ्यांकले गत आवमा १ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँको व्यापार घाटा रहेको देखाएको छ ।

कोरोनाका कारण लक्ष्यभन्दा कम राजस्व संकलन गरिरहेको विराटनगर भन्सार कार्यालयले साउन र भदौमा भने लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । आयातको तुलनामा निर्यात निकै कम भए पनि निर्यातमा सुधार हुँदै गएको भन्सार प्रमुख शिव भण्डारीले जानकारी दिए ।

निर्यातमुखी अर्थतन्त्र नहुनु र आयातमा निर्भर हुँदा प्रत्येक वर्ष व्यापार घाटाको ग्राफ उकालो लागेको देखिन्छ । तर आवमा विराटनगर नाकाबाट निर्यात पनि न्यून मात्रामा बढिरहेको तथ्यांकले देखाएको छ । सो नाकाबाट अघिल्लो आव २०७६÷७७ मा २८ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ बराबरको सामग्री निर्यात भएको थियो, जुन गत आर्थिक वर्षको भन्दा ६ अर्ब ३९ करोडले कम हो । विराटनगर भन्सार नाका हुँदै आयात हुने प्रमुख वस्तुहरूमा भटमासको कच्चा तेल, एमएस बिलेट, पोलिथिन दाना, स्टिल वायर, तयारी कपडा, सूर्यमुखी कच्चा तेल, मकै, सीआर सीट, खाना पकाउने ग्यास र औद्योगिक मेशिनरी छन् । त्यसैगरी नेपालबाट निकासी हुने मुख्य वस्तुहरू भटमासको प्रशोधित तेल, सेन्थेटिक यार्न, जुटका बुनिएका कपडा, जुटका बोरा र झोला, ऊनी, सुती, चाउचाउ, सनपाटको धागो, सूर्यमुखी प्रशोधित तेल लगायत छन् ।

तपाईको प्रतिक्रिया