बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं – चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह सञ्चालनको अन्तिम तयारी गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक आशिष गजुरेलले सुख्खा बन्दरगाहको निर्माणका काम सम्पन्न भएकाले बन्दरगाह सञ्चालनको लागि तयारी गरिरहेको बताए ।

कार्यकारी निर्देशक गजुरेलले बन्दरगाहमा सञ्चालनका लागि भन्सार कार्यालय, क्वारेन्टीन, बैङ्क, सुरक्षा निकाय लगायतका सम्बन्धित निकायसँग छलफल भइरहेको भन्दै उहाँले चाँडै नै पूर्ण तयारीका साथ सञ्चालनमा ल्याउन लागिएको बताए । सुख्खा बन्दरगाह सुरु भएसँगै काठमाडौंको व्यवसायीहरूले सिधै काठमाडौँमा सामान ल्याउन सक्ने र छिट्टै उपभोक्ताको माझमा पु¥याउन सकिने तथा आयात, निर्यातको मूल्य घटाउन सकिने उनले उल्लेख गरे ।

उनले भने, ‘अहिले हामी यसको सञ्चालनको लागि तयारीको अवस्थामा छौं । र हामी चाँडै नै यसलाई सञ्चालन गर्ने भनेर अगाडी बढिराखेको छौँ । यसको लागि यहाँको सम्बन्धित निकाय भनेको भन्सार कार्यालय, क्वारेन्टीन, बैङ्क, सेक्युरिटी, पोर्ट सञ्चालनको लागि सञ्चालक हुनुभयो यति सबै जनाको सहकार्यमा हामीबिच छलफल पनि भइराखेको छ र चाडै नै हामी तयारी पूर्ण गरेर यसलाई सञ्चालनमा ल्याउने हिसाबले अगाडी काम बढाइरहेका छौं ।’

काठमाडौंको चोभारस्थित २२० रोपनी जग्गाको क्षेत्रफलमा १ अर्ब ६० करोड रुपैयाँको लगानीमा सुख्खा बन्दरगाह बनेको हो । यसभित्र २ वटा गेट, ३ वटा धर्मकाँटा, भन्सार, क्वारेन्टीन र प्रशासनिक गरी ३ वटा भवन, ३ वटा ठूला गोदाम, चेकजाँच गर्ने ३ वटा खुल्ला भवन, ५०० वटा कन्टेनर राख्न सक्ने कन्टेनर यार्ड, ५०० ट्रक व्यवस्थापन गर्न सकिने पार्किङ स्थल निर्माण सम्पन्न भइसकेको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए। सिसिटिभी जडान र फायर फाइटर समेत जडान गरिसकेको उनले बताए ।

भारत र चीनसँग सीमा जोडिएको जिल्लाहरूमा मात्रै सुख्खा बन्दरगाह भए पनि भित्री जिल्लामा भने चोभारको सुख्खा बन्दरगाह पहिलो हो । वीरगञ्ज, विराटनगर, भैरहवा, काँकडभिट्टा, तातोपानीमा सुख्खा बन्दरगाह सञ्चालनमा छन् भने रसुवा र नेपालगञ्जमा पनि निर्माणाधीन अवस्थामा रहेको छ ।

तपाईको प्रतिक्रिया