बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

गलेश्वर – प्रायः नेपाली युवा रोजगारीका लागि विदेश जान मरिहत्ते गर्छन् । उनीहरूको पहिलो रोजाइ वैदेशिक रोजगारी नै हुने गर्दछ ।

म्याग्दीको बेनी नगरपालिका-७ कुरिलाखर्कका युवा सुरेश ढुङ्गानाले आफ्नै पौरखले गाई, भैँसीको गोठ र कुखुराको खोर बनाएका छन् । दशवर्ष अरबको खाडीमा पसिना बगाएका ३७ वर्षीय उनले पेशा परिश्रम र पैसालाई जीवनसँग जोडेर सम्पन्नता र प्रशन्नताको महक प्राप्त गर्ने ज्ञान अरबको खाडीबाट प्राप्त गरे । ‘मैले खाडीमा जीवनको महत्व र स्वदेशको सम्भावनालाई बुझेँ’, उनले भने ।

स्वदेशमै सम्भावना देखेर गाउँ फर्किएका उनलाई गाउँ आएपछि साथीले अमेरिका जान आग्रह समेत गरे । उनले अमेरिका जाने होइन गाउँमै अमेरिकामा भन्दा बढी कमाउने र गाउँमै रमाउने योजना सुनाए ।

साथीहरूले उनका विचारलाई उडाए । अरुले बुद्धि नभएको भने पनि उनी आफ्नो निर्णयमा अडिग रहेर भैंसीपालन व्यवसाय सुरु गरे। यो आठ वर्ष पहिलेको कुरा हो । यसबीचमा उनको जीवनमा पनि धेरै आरोहअवरोह आए । अनेकौँ घुम्ती र मोड आए र गए । उनले आठ वर्ष अगाडि ‘ढुङ्गाना कृषि तथा पशुपक्षी फार्म’ स्थापना गरेर व्यवसाय सुरु गरे । त्यही फार्ममा अहिले २२ मुर्रा जातका भैँसी र दुई दुहुना जर्सी गाई छन् ।

उनी अहिले दैनिक १५० लिटर दूध सदरमुकाम बेनीबजारमा बिक्री गर्छन् । दुई भैँसीबाट सुरु गरेको व्यवसायबाट अहिले उनले मासिक रु पाँच लाख आम्दानी गर्छन् । सबै खर्च कटाएर मासिक करिब दुई लाखको हाराहारीमा बचत हुने उनको भनाइ  छ। फार्ममा अहिले रु ५० लाख जति लगानी भइसकेको उनले जानकारी दिए । उनले भैँसीलाई चाहिने घाँसका लागि सार्वजनिक पाखो भाडामा लिएका छन् ।

‘बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म भैँसी गोठ र कुखुराको खोरमा नै व्यस्त हुन्छु । समय गएको पत्तै हुँदैन । साँझपख बजारमा दूध पु-याएउन जान्छु । सदरमुकाम बेनीबजारको न्यूरोडमा रहेको धवलागिरि डेरी उद्योगमा दैनिक १५० लिटर दूध पु-याएपछि बल्ल शरीरमा फूर्ति आउँछ’, उनले भने ।

प्रतिलिटर ९० मा दूध बिक्री हुने गरेको उनी बताउँछन् । व्यवसायी ढुङ्गानाले साँझ र बिहान गरी दिनमा दुईपटक मोटरसाइकलबाट बेनीमा दूध पु[याउँछन् । ‘बजारको अभाव छैन, जति पनि बिक्री हुन्छ तर गुणस्तरलाई खस्कन दिनुहुँदैन’, ढुङ्गानाले भने ।

पशुपालन व्यवसायमा परिश्रम गर्नसके विदेशमाभन्दा राम्रो कमाइ गर्न सकिने उनको अनुभव छ । उनले पाँच रोपनी जग्गामा फार्म बनाएका छन् भने फार्ममा दुई जनालाई रोजगारीसमेत दिएका छन् । भैँसीको स्याहार सुसारदेखि दूध दुहुने काममा आफैँ खटिने ढुङ्गाना विदेशमा गएर अरुको अधिनमा रही दुःख गर्नुभन्दा आफ्नै गाउँमा समयानुकूल व्यवसाय गर्ने हो भने मनग्ये कमाइ गर्न सकिने बताउँछन् ।

उनले भैँसीपालनसँगै कुखुरापालन पनि सुरु गरेका छन् । अहिले उनका फार्ममा दुई हजार ३०० ब्रोइलर कुखुरा बिक्रीका लागि तयारी अवस्थामा छन् । दूध र कुखुरा दुवैबाट हुने आम्दानी जोड्ने हो भने मासिक कमाइ रु आठ लाख पुग्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया