शुक्रबार, जेठ ११, २०८१
Friday, May 24, 2024

काठमाडाैं -भर्खरै देश कब्जा गरेको तालिबानले अफगानिस्तानस्थित भारतीय वाणिज्य दूतावासमा बुधबार छापा मारेको छ । भारतको अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार हाल बन्द कन्धार र हेरातमा रहेका भारतीय दूतावासको कार्यालयको ताला तोडी तालिबानी लडाकु प्रवेश गरेका हुन् ।

त्यस क्रममा उनीहरूले कन्धारस्थित भारतीय दूतावासको दस्तावेज खोज्दै दराज खोले भने दुवै दूतावासका कार्यालय परिसरमा राखिएका गाडी लिएर गएका छन् । हिन्दुस्तान टाइम्सका अनुसार अफगानिस्तानको राजधानी काबुलमा सरकारको गुप्तचर एजेन्सी एनडीएसका लागि काम गर्ने अफगानी नागरिक खोजीका लागि तालिबानी लडाकु घरघर पुगेका छन् ।

जलालाबाद र काबुलस्थित भारतीय वाणिज्य दूतावासमा के भइरहेको छ, त्यसको जानकारी प्राप्त भइसकेको छैन । रिपोर्टअनुसार हक्कानी नेटवर्कका झण्डै ६० हजार लडाकुले राजधानी काबुल नियन्त्रणमा लिएका छन् । जसको नेतृत्व अनस हक्कानीले गरिरहेका छन् ।

उनी हक्कानी समूहका प्रमुख सिराजुद्दिन हक्कानीका भाइ हुन् । अनस हक्कानीले अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद कारजाई र एचसीएनआरका प्रमुख अब्दुल्लाह अब्दुल्लासँग भेटेका छन् । यसबाट पनि कारजाई र अब्दुल्लाका गतिविधि तालिबानको नियन्त्रणमा रहेको बुझ्न सकिन्छ ।

तपाईको प्रतिक्रिया