शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडाैँ – तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार पनि आफूले नियन्त्रणमा लिएको दाबी गरेको छ । उक्त सहर नियन्त्रणमा लिनु भनेको तालिबानका लागि निकै महत्त्वपूर्ण विजय हुनेछ ।

उक्त सहर कुनै बेला तालिबानको बलियो पकड भएको क्षेत्र थियो र यो अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र पनि हो । अफगानिस्तानमा जारी लडाइँकाबीच तालिबानले बिहीवार थप मुख्य सहरहरू गज्नी र हेरातलाई आफ्नो नियन्त्रणमा लिएको थियो । तालिबानले देशैभरि आफ्नो विस्तारलाई कायम राख्ने क्रममा त्यसलाई सबैभन्दा नाटकीय ढङ्गको श्रृङ्खलाबद्ध कब्जा मानिएको थियो ।

यसैबीच विश्व शक्ति राष्ट्रहरूले चाहिँ सैन्य शक्तिद्वारा अफगानिस्तानमा स्थापना हुने सरकारलाई आफूहरूले मान्यता नदिने चेतावनी दिएका छन् । अमेरिका र ब्रिटेनले आफ्ना दूतावासका कर्मचारी र नागरिकहरूलाई सुरक्षित रूपमा अफगानिस्तानबाट लैजान पुन: काबुलमा सैनिकहरू पठाउन लागेको बताएका छन् ।

एकजना तालिबानका प्रवक्ताले कान्दहार पूर्ण रूपमा जितिएको छ भन्ने घोषणा गरेका छन् तर त्यसलाई अहिलेसम्म पुष्टि गर्न सकिएको छैन । स्रोतहरूले दक्षिणी हेल्मन्ड प्रान्तको राजधानी लश्कर गाहलाई पनि तालिबानले नियन्त्रण गरेको बताएका छन् । यद्यपि त्यसको पनि अहिलेसम्म स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

तालिबानले अहिले देशको उत्तरी क्षेत्रमध्ये धेरै स्थानमा नियन्त्रण गरिसकेको छ । उसले हालसम्म देशको एक तिहाइ भू-भागमा आफ्नो नियन्त्रण कायम गरेको बताइएको छ । राजधानी काबुलतर्फ तालिबान अघि बढ्दै गर्दा व्यापक चिन्ताहरू व्यक्त भइरहेका छन् । काबुलमा तालिबानले नियन्त्रण गरेका क्षेत्रबाट अहिले हजारौँ नागरिकहरू भागेर आएका छन् ।

कान्दहार तालिबानको आरम्भ भएको सहर हो र पहिले यो उसको सबैभन्दा बलियो पकड भएको क्षेत्र रहेको थियो । उनीहरूले उक्त सहरको बाहिरी क्षेत्रमा हप्तौँ पहिले नियन्त्रण गरिसकेका थिए । बुधवार तालिबान कान्दहारको केन्द्रीय जेलमा प्रवेश गरेको थियो ।

त्यस्तै बिहीवार सामाजिक सञ्जालका पोस्टहरूमा तालिबान विद्रोहीहरू सहरका मुख्य केन्द्रहरूमा देखिएका थियो । कान्दहारलाई रणनीतिक महत्त्वको मानिन्छ किनकी त्यहाँ अन्तर्राष्ट्रिय विमानस्थल छ । उक्त क्षेत्र देशको मुख्य व्यापारिक केन्द्र पनि हो । बिहीवार रणनीतिक रूपले महत्त्वपूर्ण गज्नीमा नियन्त्रण गरेपछि तालिबानलाई राजधानी काबुललाई नियन्त्रण गर्न बल पुग्ने ठानिएको थियो । उसले तेस्रो ठूलो सहर हेरातलाई पनि कब्जामा लिइसकेको छ ।

अमेरिकी नेतृत्त्वको विदेशी सेनाले २० वर्षको सैन्य अभियानपछि केही साताअघि अफगानिस्तान छाडेको थियो । त्यसपछि तालिबानले त्यहाँ दैनिक जसो नयाँ क्षेत्रमा नियन्त्रण कायम गरिरहेको छ । क्वाला-ए-नउ सहर पनि तालिबानको नियन्त्रणमा गएको छ ।

तपाईको प्रतिक्रिया