मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

विवादै विवादको चाङमा उभिएको एनआरएन जापानको विवाद अब नयाँ चरणमा प्रवेश गरेको छ । एकपछि अर्को गर्दै थरिथरिका विवादमा बल्झेको एनआरएन जापान तंग्रिन नपाउँदै निर्वाचनमा होमिएपछि अर्को विवाद सुरु भएको हो । प्रसंग, अनियमितता भएको भनिएको डिजिटल भोटिङ र यसले स्थापित गरेको परिणामलाई लिएर यतिखेर नेपाली समाज ध्रुवीकृत भएको छ । संकटको भूमरिमा फसेको एनआरएनलाई मुक्ति दिलाउन आर्थिक घोटाला छानविन समिति, त्यसपछि गठित अर्को उच्चस्तरिय समिति, अनुगमन समिति, निर्वाचन समिति, अध्यक्ष मण्डल, मौजुदा कार्यसमिति, प्यासिफिक तथा आइसीसीको हाइकमाण्ड लगायतका अनेकथरि समिति बीच कार्यसम्पादनमा प्रभावकारी समन्वय र मतैक्यता देखिदैंन । निर्वाचनमा धाँधली भएको भन्दै ठूलो संख्याका असन्तुष्ट पक्षबाट सप्रमाण उजुरी परिसकेपछि त्यसको किनारा नलाग्दै अर्थात सुनुवाई नहुँदै एकपक्षिय ढंगले सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । यसले बिषयलाई अझ पेचिलो मात्रै बनाएको छैन नेपाली समाजको बृहत्तर हित र एकतामा समेत दीर्घकालिन असर पर्ने देखिन्छ । एउटा माघले हिउँद जाँदैन । केहि थान टाउकाहरुको जुंगाको लडाईले मिलेर बसेको समाजलाई गिजोल्न खोजिनु विडम्वनापूर्ण छ ।

परीक्षा हलमा छिर्ने बेलासम्म सबै राजीखुशीले छिरे । अपवादबाहेक जनही हजारमा खरिद गरिएका मतरुपी चिट बलबुताले भ्याएसम्म सबैले चोरेहोलान् । चोर्नकै लागि सजिलो होस् भनेर रोजिएको अनलाइन बिधिमा क्षिद्रहरु के के थिए भन्ने लगभग सबै जानकार थिए । चिट चोरेर वा नचोरेर पास हुनेहरुलाई खादामाला र अबिरजात्रा गर्न हतार हुने नै भयो । चिट चोरेर पनि पास नहुनेहरु अर्थात चोर्न ढंग नपुर्‍याउनेहरुले भने चिट चोरेर पास गरेको भन्दै उनीहरुमाथि छानबिन हुनुपर्ने अडान राख्दै आएका छन् । चोर्न त फेल हुनेहरुले पनि लागेपुगेसम्म चोरेकै होलान् कम र बढि भन्ने मात्रै कुरो हो । चोरेरै पास हुने बानी परेकाहरुका लागि त यो सामान्य लाग्न सक्छ । तर बूढी मरी भन्दा पनि काल पल्क्यो भन्ने चिन्ता हो । एनआरएनमा यो थिति बसाउने एनआरएनका हेडसरहरु भने अहिले बडा धर्मसंकटमा देखिन्छन् । एकपछि अर्को गर्दै जापानबाट मञ्चन भईरहेका एनआरएनको शृङ्खलाबद्ध प्रकरणहरुले दुनियाँ हसाईरहेका छन् । स्थिति सम्हाली नसक्नु नियन्त्रणभन्दा बाहिर गईसकेको छ ।

एनआरएन जापानको इतिहास हेर्ने हो भने जुन समयदेखि धनवाद र डनवादको बैशाखी टेकेर धुरीमा पुग्ने सँस्कार भित्र्याईयो, त्यहिबेला देखि क्षमता, योग्यता र भिजन भएका मानिसहरु पाखा लगाईने गरेको र जस्तोसुकै हथकण्डा अपनाएर भएपनि नेतृत्व हडप्नेहरुको हालीमुहाली सुरु भएको देखिन्छ । तथापि यसपालिको जस्तो भद्रगोलमाथि गञ्जागोलको स्थिति भने यसअघि कहिलै भएको थिएन, यसले जापानमा बस्ने जो कोही स्वाभिमानी नेपालीको शीर झुकाएको छ । यसको जिम्मा कसले लिने ? एनआरएनका नेता भनाउँदाहरुले यसको जबाफ दिनुपर्छ ।

समस्याको जड सहिलाई सहि र गलतलाई गलत भन्न नसक्ने जमात, उठ्दा पनि राजनीति, बस्दा पनि राजनैतिक भागबिलो, हाकाहाकी रंगको आधारमा निषेधको राजनीति, उपयुक्त स्थानमा उपयुक्त ब्यक्तिको चयन हुन नसक्नु लगायत हुन् । यसबाहेक सबैभन्दा ठूलो समस्या भनेको सदस्यता बितरण प्रणालीमा छ । जनचेतना अभियान मार्फत जनजनको कान कानमा पुर्‍याएर स्वतस्फुर्त आफैले सदस्यता लिने सँस्कारको बिकास नगरेसम्म अरु सबै बेकारका गफ हुन् । जसको पैसोले सदस्यता बन्यो भोटमा पनि उसैको नियन्त्रण हुने नै भयो, कुरो क्लियर छ । सदस्यताको प्रयोजन भोटका लागि मात्र भन्ने स्थापित मनोविज्ञान, खोटैखोट भएको सदस्यता वितरण प्रणाली र ठ्याक्कै त्यस्तै निर्वाचन प्रणाली भएपछि यस्तो अवस्था आउनु कुनै नौलो हैन । ग्राउण्ड रियालिटी यहि हो, बाँकी सबै तपसिलका बकबास मात्र हुन् ।

त्यसो भएको हुनाले समस्या धुरीमै छ । समस्या मुहानमै छ । समस्या माथिल्ला केही थान टाउकाहरुमै छ । चाहेको भए सुरुदेखि स्थितिलाई सम्हाल्दै सामान्यीकरण गर्दै ल्याउन सकिन्थ्यो, त्यसका लागि हामीले एनआरएनका शीर्ष तहका ब्यक्तिहरुलाई समयमै ध्यानाकर्षण पनि नगराएको हैन । यस्तो स्थिति आउने संकेत धेरै पहिलेदेखि नै सतहमा देखिएकै थिए ।

भनिन्छ, असल नेतृत्वको परीक्षा संकटको बेलामा नै हुन्छ । अर्थात संकटको भूमरीबाट नै असल नेतृत्वको जन्म हुन्छ । आशा गरौं, यी सबै समस्याहरुलाई एकमुष्ट संबोधन गरी जापानको नेपाली समुदायबीचको मेलमिलाप, एकता र भाइचारालाई यो भन्दा थप बिग्रन नदिन जिम्मेवार सरोकारवला सबै पक्षको संयमित र सकारात्मक भूमिका अपेक्षित छ ।***

तपाईको प्रतिक्रिया