मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

आफु बाँचेको समय र आफु बसेको समाज अब्बल होस् भन्ने उन्नत चेत सबैमा हुने हो भने हाम्रो समाज स्वतः उत्कृष्ट हुनेमा शंका छैन । समाजका बुद्धिबहादुरहरुलाई बलबहादुरहरुले उछिन्न र उधिन्न खोजे भने त्यो समाजमा हुने भनेको अराजक, अशोभनीय र उच्छृङ्खल गतिबिधि मात्रै हो । समाज अनियन्त्रित र अनुशासनहीन बन्दै गएपछि धमिलो पानीमा माछा मार्नेहरु हाबी हुनु स्वभाविकै हो । अहिले सतहमा देखिएका अशोभनीय एवं घृणित गतिबिधिलाई यदि बिम्ब मान्ने हो भने यो राम्रो संकेत होईन र सन्तोष गर्न सकिदैन । शालिनता, विनयशीलता, नम्रता र अनुशासनको पर्याय मानिने जापानमा दशकौं बसेका हामी नेपाली सानोतिनो जमघट भयो कि पाखुरा सुर्कासुर्की र मारमुंग्री नै गर्नुपर्ने सँस्कार कसरी भित्रियो, यसलाई कसले हुर्कायो, यसबारे गहन अध्ययन हुनु जरुरी छ । हरेक मानिसले लिने एक्शन र निर्णय भनेको उसको सोचको उपज हो । मानिसको सोच निजको सँस्कारबाट सीर्जित हुने हो । परिवार, पृष्ठभूमि, स्कुलिङ, संगत, अध्ययन, चिन्तन, मनोविज्ञान आदिको आधारमा उसको सँस्कारको जग बस्ने हो ।

’नेपालीका लागि नेपाली’ भन्ने नारा वास्तवमै यस अर्थमा पनि सार्थक मान्न सकिन्छ कि विदेशमा नेपालीले नेपालीसंग मात्रै प्रतिस्पर्धा गर्दै आईरहेका छन् । चाहे पाखुरा उज्याउने मामिलामा होस् या बिनाकारण कोही कसैको हुर्मत लिने कार्यमा होस् अर्थात आम्ने-साम्ने करीशप वा अन्य ब्यवसाय खोलेर न आफुलाई न अरुलाई हुन-खान दिने सवालमा होस् जता पनि हामी नेपालीले नेपालीसंगै अस्वस्थ्य प्रतिस्पर्धा गरिरहेका हुन्छौ । बीर गोर्खाली कहलिएका हामी नेपालीले सकिन्छ भने अरु देशका नागरिकसंग ब्यवसायिक क्षमतामा वा अन्य बिधामा प्रतिस्पर्धा गरेर बहादुरी देखाए हुने तर हामी नेपालीले नेपालीलाई नै पाएसम्म निचोर्ने, चिथोर्ने, हेप्ने, रस्साकस्सी गर्ने, पौठेजोरी खेल्ने र अनेकन हिसाबले तनाव दिने गरेको पाईन्छ । त्यसैले नेपालीमा एउटा उखान छ – ’अरुले अरुलाई जिस्काउँछ, लाटोले आमालाई जिस्काउँछ’ यो हामी सबैले देखेभोगेकै बिषय हो । यसो हुनुको मुल कारण खोतल्दै जाने हो भने एकजना विद्वानले भनेको एक लाइन निकै मेल खान्छ । उनले भनेका छन् – ’हामी हारेको क्वालिटी नभएरै हो ।’ हो आज हरेक क्षेत्रमा क्वालिटीयुक्त जनशक्ति, क्वालिटीयुक्त उत्पादन, क्वालिटीयुक्त सिर्जना बजारका बिकाउ र टिकाउ माल भएका छन् । हामीकहाँ भने त्यसको ठीक विपरित स्थिति छ ।

हामीले के गर्ने, के नगर्ने आफु पनि जान्दैनौ र अरुले भनेको पनि मान्दैनौ, किनभने हामी नेपाली हौं । यो प्रवृत्ति खासगरी एनआरएन पंत्तिमा बढि मौलाएको देखिन्छ । एनआरएनका जिम्मेवार नेताहरुले अब त राम्रैसंग बुझ्नुपर्ने हो । अभियान भनेको सँस्कार पनि हो । सँस्कारका लागि क्वालिटी मेन्टेन आवश्यक मात्रै हैन अनिवार्य सर्त हो । त्यतातिर ध्यान दिनुको साटो शक्तिकेन्द्रले आफ्ना चुल्ठे-मुन्द्रेहरुको भर्तीकेन्द्र बनाएपछि अहिले एनआरएनमा जताततै भाँडभैलो देखिन्छ । अब यसलाई कसरी बिस्तारै लाइनमा ल्याउने यो आजको अहम प्रश्न हो ।

अहिले जापानमा एनआरएनको चुनावी माहौल छ । पछिल्लो समयमा एनआरएन जापानको साख ओरालो लागेको अवस्था हो । जापानका पढालेखा जमात धेरै पहिलेदेखि यो अभियानबाट टाढै बस्न रुचाएको देखिन्छ । यतिका बर्षसम्म एनआरएन अभियानले यहाँको जनस्तरमा खासै आकर्षण गर्न र ऊर्जा भर्न पटक्कै सकेको छैन । हरेक दुई वर्षमा आउने चुनावमा मात्रै भोटको कारण एनआरएनको गाइँगुइँ चलेको सुनिन्छ । नत्र मानिसहरुको मानसपटलबाट ओझेल परिसकेको हुन्थ्यो ।

तथापि यो अभियान आफैमा नराम्रो होईन । पात्र, प्रवृत्ति र प्रणालीको ठीक ढंगले समायोजन नहुँदा यदाकदा स्थिति नियन्त्रण बाहिर जाने गरेको पाईन्छ । जब जब नयाँ टिम निर्माणको मौसम आउँछ, घनिभूत बहस, छलफल, क्रिया, अन्तरक्रिया गरेर चुस्त, दुरुस्त र क्वालिटीयुक्त सशक्त टिम बनाउनका लागि जिम्मेवार तहबाट हदैसम्मको पहल गरिनुपर्थ्यो, त्यसो हुन सकिरहेको देखिदैंन ।

उम्मेदवारीको लर्को हेर्दा परिआउँदा अन्तर्राष्ट्रिय फोरममा गएर जापान जस्तो देशबाट गर्विलो प्रतिनिधित्व गर्दै बिषयगत क्षमता प्रदर्शन गर्न सक्ने आशालाग्दो अनुहारहरुको अपेक्षित उपस्थिति देखिदैन । तथापि आफ्नो स्वविवेक प्रयोग गर्दै पात्र भन्दा प्रवृत्ति, पृष्ठभूमि, क्षमता एवं योग्यता चिनेर यस्ता प्रतिनिधिलाई चुनौ जसका कारण पछि पुर्पुरोमा हात राखेर पछुताउन नपरोस् ।***

तपाईको प्रतिक्रिया