Deneme Bonusu Veren Siteler
बुधबार, पौष १०, २०८१
Wednesday, December 25, 2024

काठमाडौ बसन्तपुरकी सुमिका बज्राचार्य टेलिभिजनमा समाचार पढ्थिन् । यसबाहेक उनले व्यापारिक बस्तुहरुको विज्ञापनमा मोडलिङ् पनि गरिन् । यतिले पनि उनको चित्त बुझेन् । मिस नेपालको प्रतिस्पर्धामा उत्रिइन् । रंगिन दुनियाँमा रमाइरहेकी उनलाई लाग्थ्यो- ‘रुचिका यिनै विषयलाई मैले मेरो जीवनको मार्ग बनाउनुपर्छ ।’ सुमिकाको योजना समयलाई मञ्जुर भएन । समयको आँधीले उनलाई कल्पनासम्म नगरेको पेशामा हुत्याइदिएको छ । सुमिका अहिले पाँचसय यात्रु बोक्ने एयर बसमा एयर होस्टेजको हेड सुपरभाइजर छन् । फर्स्ट क्लास र बिजनेस क्लासका यात्रुहरुहरुको खातिरदारी गर्दै उनी संसारभर घुमिरहेकी हुन्छिन् । दिनैपिच्छे नयाँ नयाँ मान्छेको संगत, नयाँ नयाँ ठाउँको दृश्यावलोकन, पाँचतारे होटलको बसाई उनलाई यो पेशा उड्ने परीभन्दा कम लागेको छैन । ओमान एयरमा सुमिकाजस्तै एघार नेपाली परीहरु कार्यरत छन् । हुन त लकडाउनले गर्दा उनीहरुको दैनिकी अहिले फेरिएको छ । जहाजको उडान कम भएका कारण धेरै समयपछि पालो आउँछ । त्यही पनि ओमानमा रहेका नेपाली समुदायले गर्ने सामाजिक काममा उनीहरुले आफूलाई व्यस्त राख्ने गरेका छन् । तिमी अर्को जन्ममा के हुन चाहान्छौ ? धेरैको उत्तर हुन्छ- चरा । त्यसो त ओमान एयरमा काम गर्ने नेपाली चेलीहरु योजना बनाएर एयर होस्टेज भएका होइनन् । एकाध मोड्लिङ, फेसन डिजाइनर हुँदै अधिकांश विद्यार्थी जीवनबाटै एयर होस्टेज हुन आइपुगेका हुन् । प्रसार योगी, बबिता राई, शिष्मा भण्डारी, शितल मास्के, नसिम प्रधान, पुष्पा गुरुङ र सुष्मिता गुरुङ एक दशकदेखि उडान शयरमा छन् । उनीले कहिले बोइङ त कहिले एयरबसमा काम गर्नुपर्छ । एयरबसमा काम गर्नेले महिनाको ६ फ्लाइटसम्म उडान भर्नुपर्छ भने बोइङमा काम गर्नेले १५ उडानसम्म भ्याउनुपर्छ । उडान अवधिभर १२ घण्टा जागा रहनुपर्छ । महिनामा एक साता आराम गर्ने अवसर पनि पाइन्छ ।फरक क्षेत्रबाट आएकाले धेरैलाई यो पेशा शुरुमा अचम्म लागेको थियो रे ! उनीहरु भन्छन्- पहिलो उडानमा आफू परिचारिका हुँ भन्नेसम्म पनि ख्याल रहेन । उडान अवधिभर थोरै रोमाञ्चकता र धेरै त्रासले थिचिरहृयो । कतै बिग्रिने पो हो कि भन्ने डरले उडानको अनुभव नै भएन । पछि बानी पर्दै गएपछि भने उनीहरुले बल्ल संसार बुझ्न थाले । एकदिन युरोप त एकदिन अमेरिकाको घुमाईले उनीहरुमा अर्कै आनन्दले घर गर्न थाल्यो । नयाँ मान्छेसंगको भेटले आफूभित्र पनि नयाँ सोच आएको अनुभूति हुन थाल्यो । अझ नेपाल रुटमा उडान पर्दा नेपाली दाजुभाइहरुलाई आफू पनि नेपाली हुँ भनेर परिचय दिंदा देखिने न्यानोपनले थप उर्जा दिने उनीहरुको भोगाइ छ ।जहाजको सानो झ्यालबाट संसारका चमत्कारहरु हेर्न पाउँदा यिनीहरु दंगदास पर्दा रहेछन् । भन्छन्- मिलानको रोम, पेरिसको आइफेल टावर, लण्डनका प्राचिन स्मारक, जर्मनी, भारत, मलेशिया, श्रीलंका र बैंककको आकासबाट धर्तीमा देखिने दृश्य हेरेर कहिलेकाहीँ त हामी कहालिएका पनि छौं । यी परीहरुको अनुभवमा आकासबाट देखिने ती बस्तु संसारको सवैभन्दा सिपालु शिल्पीले बनाएको आकृतिभन्दा पनि राम्रो देखिन्छ । यसखाले उत्सुकता र जिज्ञासै जिज्ञासाले भरिएको जागिरमा उनीहरुले कसरी प्रवेश पाए त ? ओमान एयरमा जनशक्ति ल्याउने जिम्मेवारी लिएको एक मेनपावर कम्पनीमार्फत उनीहरु त्यहाँ गएका रहेछन् । तर ओमान एयरबाट छनोटका लागि आएको टोलीले काठमाडौं र ओमानमा पटक पटक अन्तर्वार्ता लिएर उनीहरुलाई छानेको रहेछ । शारीरिक बनावट, सौन्दर्य, भाषा, दैनिक आहारविहारदेखि पौडी खेल्नसम्म दक्ष सुन्दरीहरु छनौटमा परेका रहेछन् । उनीहरु जसरी खुल्ला आकासमा काम गर्छन, उसरी नै अवसरले पनि पछ्याउने रहेछ । ओमान एयरमा काम गर्ने सुन्दरी मध्येकी सोफिया चिमोरिया त अमेरिकाको युनाईटेड एयरलाइन्समा यस्तै जागिर पाएर उता लागिछन् । अब प्रश्न उठ्छ- यस्तो खाले सौखिन जागिर खानेहरुको पारिश्रमिक चाहिँ कति हुन्छ होला ? हामीले पनि यो जिज्ञासा ती परीहरुसंग राखेका थियौं । कम्पनीको नियमअनुसार उनीहरुले भत्ताबाहेक प्रति उडान ५ सय रियाल पाउँदा रहेछन् । एक छाक खाना, होटल र हिँडडुलको थप सुविधा पनि पाउने गरेको यिनीहरु बताउँछन् । एक हप्ताअघि कसले कहाँको उडान भर्ने रोष्टर तयार हुन्छ । उडानका क्रममा विश्वका हरेक कुना चाहारेपनि तिनीहरुले आफ्नो थातथलो चाहिँ ओमानको मस्कटलाई बनाएका छन् । उडान अवधिभर संसारमा देखिएका रोमाञ्चक दृश्यले दिएको आनन्द उनीहरु ओमान उत्रिएपछि भने छियाछिया हुने रहेछ । घरेलु कामदारका रुपमा अवैध बाटोबाट ल्याइएका नेपाली नारीको दर्दनाक अवस्थाका दृश्यहरुले आफूहरुलाई द्रवित बनाउने गरेको यी हवाई सुन्दरीहरु एघारमध्ये एनआरएनको सदस्य भएर आपतविपतमा परेका नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई सहयोग गर्ने गरेको खुलाउँछन् ।
यी हवाई सुन्दरीहरुको भविष्यको योजना के छ त ? विवाहिताले पनि काम गर्न पाउने भएका कारण यिनीहरु ढुक्क छन् । सुत्केरी हुँदासम्म कम्पनीले छुट्टी र यथोचित सुविधा दिने गरेको छ । त्यसैले धेरैले घरजम पनि बसाइसकेका छन् । अहिले आफूहरु यही काममा रमाइरहेकाले भविष्यप्रति यिनीहरु चिन्तित छैनन् । तर घर फर्किएर सामाजिक काममा विताउने इच्छा चाहिँ संगालेका छन् । संसार घुम्ने बानी परेको स्थितिमा भोलि घरमा खुम्चिनुपर्दा बहुलाइने हो कि भन्ने पिरलोले पुष्पालाई अहिल्यै चिमोट्ने गर्छ । नेपालको उडानमा आफ्ना दाजुभाइसंग नेपाली बोलेर उनीहरुसंग दुखसुख साट्दाको क्षण उनीहरुका लागि अति प्रियकर लाग्ने गर्छ । विदेशी जहाज कम्पनीमा नेपाली चेली देख्दा दाजुभाइ पनि दंग पर्ने रहेछन् । प्रत्येक एक मिनेटमा एक नेपाली युवा वैदेशिक रोजगारका लागि विदेशिने गरेको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ । कति मृत्युको मुखमा पुगेका छन् । अदक्ष कामदारका कारण लाखौं नेपालीले विदेशी भूमिमा अमानवीय दुख झेलिरहेका छन् । तर नेपालबाटै गएका यी हवाई सुन्दरीहरु भने आराम र सन्तुष्टिको कामकाजी जीवन विताइरहेका छन् । यसले सभ्य र शिष्ट काममा पनि नेपाली श्रम विदेशी बजारमा बिक्न सक्ने रहेछ भन्ने पुष्टि गरेको छ भने अर्कातिर दक्ष कामदारका लागि मात्र वैदेशिक रोजगारी फलदायी हुने सन्देश दिएको छ ।***

तपाईको प्रतिक्रिया