काठमाडौं – नेपालमा विदेशी दाताले दिएको ऋण बढेको छ । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७७/७८ को फागुन मसान्तसम्म विदेशी ऋण करिब १६ खर्ब पुगेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको विवरणअनुसार विदेशी ऋण १५ अर्ब ८९ अर्ब ४६ करोड पुगेको छ । यो ऋण नेपालको कुल गार्हस्थ उत्पादन जिडिपीको ३७ दशमलव ३ प्रतिशत बराबर रहेको अर्थमन्त्री पौडेलले जानकारी दिए । यस्तै, गत आर्थिक वर्षभन्दा सरकारी खर्चमा संकुचन आएको छ ।
अर्थ मन्त्री पौडेलका अनुसार गत वर्षभन्दा चालु आवमा सरकारी खर्चमा ६ दशमलव ५ प्रतिशतले संकुचन भई ५ खर्ब ७१ अर्ब ७७ करोड रहेको छ । यस्तै, संघीय सरकारको बजेट घाटामा भने सुधार आएको छ । गत आवको तुलनामा यस आवमा ६५ दशमलव ५ प्रतिशतले सुधार हुँदै २९ अर्ब १६ करोड कायम रहेको अर्थमन्त्री पौडेलले जानकारी गराएका हुन् ।
यस्तै मन्त्री पौडेलले गत आर्थिक वर्षको तुलनामा यस आवको फागुन मसान्तसम्म सरकारी राजस्व पनि बढेको बताए । चालु आवमा ४.६ प्रतिशतले वृद्धि भई संघीय सरकारको राजस्व ५ खर्ब १ अर्ब ९७ करोड राजस्व संकलन भएको छ ।
आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले चालु आवमा ७ अर्ब ४८ करोड अनुदान र ८४ अर्ब २ करोड ऋण गरी जम्मा ९१ अर्ब ५० करोड रुपैयाँ अन्तर्राष्ट्रिय विकास सहायता परिचालन भएको जानकारी दिए । जसमध्ये ६० अर्ब ९ करोड रुपैयाँ फागुन मसान्तसम्म उपयोगमा आएको छ ।
अर्थतन्त्र सकारात्मक
कोरोनाका कारण सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य हाँसिल नहुने निश्चित भएको छ । सरकारले सुरुवातमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हुने भनी लक्ष्य राखे पनि पछि त्यसलाई संशोधन गरी ४.०१ प्रतिशतको लक्ष्य राखिएको थियो ।
यद्यपि आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले उक्त लक्ष्य समेत भेट्न गाह्रो हुने बताए । तर, कोभिड-१९ को महामारीबीच पनि सरकारले अर्थतन्त्र सकारात्मक नै रहेको बताएको छ । अर्थमन्त्री पौडेलले महामारीको केही असर भए पनि समग्र अर्थतन्त्र सकारात्मक नै भएको बताएका हुन् ।
‘हामीले गत वर्षको कोरोनापछि भी आकारमा अर्थतन्त्र वृद्धि हुने अनुमान गरेका थियौँ’, उनले भने, ‘वैशाखबाट दोस्रो लहर फैलिएपछि त्यसमा केही असर गर्ने देखिन्छ ।’