काठमाडौं – कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले एअरलाइन्सहरुमा नेपालममै उत्पादिक बटर, चिजलगायत दुग्धजन्य पदार्थ प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएकी छिन् । राष्ट्रिय दुग्ध संस्थानको बैठकलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।
संस्थानका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा भएको बैठकमा बोल्दै मन्त्री अर्यालले नेपाल वायुसेवा निगमसँग छलफल गर्दा बटर, दहीलगायत दुग्धजन्य पदार्थ बाह्य मुलुकबाट आयात गर्दा ठूलो रकम बाहिर गएको भन्ने जानकारी आएको भन्दै नेपालमै उत्पादित दुग्धजन्य पदार्थको प्रयोगको व्यवस्था मिलाउन निर्देशन दिइन् ।
मन्त्री अर्यालले भनिन्, ‘नेपाल वायुसेवा निगमको प्रमुखसँग छलफल गर्दा बटर, दहीलगायत सामग्री बाह्य मुलुकबाट आयात गर्दा ठूलो रकम बाहिर गएको पाइयो । यी कुरालाई रोकेले स्वदेशमै उत्पादित दुग्धजन्य पदार्थको प्रयोगमा जोड दिनुपर्नेछ । यसले हाम्रो उत्पादन प्रयोग गर्ने दिशामा अगाडि बढेको छ। यसको प्रगति १ हप्तामा तयारी गर्न निर्देशित गर्दछु ।’
उनले एअरलाइन्सलाई बिक्री-वितरण गर्ने विषयलाई प्राथमिकताका साथ अगाडि बढाउन निर्देशन दिइन् । खासगरी घिउ, नौनी, चिजलगायत उत्पादनको बजारीकरण गर्नुपर्ने भन्दै उनले निर्यात प्रवर्धन गर्ने खालका सैद्धान्तिक, नीतिगत व्यवस्था गर्नुपर्ने भएमा व्यावहारिक पाटो सल्ट्याउन आग्रह गरिन् ।