Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024

दोस्रो लहरको कोरोना संक्रमणले छिट्टै निमोनिया गराउने भएको हुँदा यतिबेला सबै अस्पतालमा संक्रमितको चाप बढेको छ । जसका कारण अस्पतालमा बेड पाउन निकै मुस्किल भइरहेको छ ।

पीसीआर पोजिटिभ आएका तथा अक्सिजनको मात्रा ९० बाट पनि घटेका व्यक्ति १ मिनेट पनि घरमा बस्न हुँदैन, यस्तो अवस्थामा नजिकको अस्पतालको फिभर क्लिनिकमा जानुपर्छ । फिभर क्लिनिकमा चिकित्सकको जाँच, एक्सरे आदि हुन्छ । त्यसपछि भर्ना हुने अवस्था भएमा उक्त अस्पताललाई नै बेड खोज्नका लागि अनुरोध गर्नुपर्छ ।

त्यस अस्पतालमा बेड नपाए आफैं अस्पताल खोज्दै भौतारिनु हुँदैन । त्यहाँ रहेका ट्रली, कुर्सी, चौर, बरण्डा जहाँ भए पनि बसेर उपचार सुरु गरिहाल्नुपर्छ । अस्पतालमा बेड प्याक हुने र खाली हुने क्रम भइरहेको हुन्छ । कहिलेकाहीं केही घण्टा असजिलो अवस्थामा बसेर प्रतीक्षा गर्दा बेड पाउने सम्भावना बढी हुन्छ । ट्रली वा कुर्सीमा बसेर उपचार गरिरहेका बेला गाह्रो भएमा अस्पतालले आकस्मिक उपचार गर्छ वा आफैं बेड खोजेर अर्को अस्पतालमा पठाउँछ ।

आईसीयूमा बस्नुपर्ने अवस्था भए अस्पतालले या आईसीईयूमा एडजस्ट गर्छ या अर्को अस्पतालमा आईसीयू खोजेर पठाउँछ्र । यहीबीच स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएका हटलाइन तथा फोन नम्बरमा सम्पर्क गरेर बेडको खोजी गर्न सकिन्छ ।

यस्तो बेला उच्च मनोबलले निकै काम गर्छ । धेरै बिरामी भुइँमा सुतेर भए पनि उपचार सुरु गरेर निको भएर फर्किएका छन् भने कतिपय बिरामी आरामदायी बेडको खोजीमा भौतारिँदा जीवनलीला समाप्त गरेका छन् । जीवन बच्यो भने घरकै आरामदायी बेडमा सुत्न पाइन्छ ।

आफूले चिनेका अस्पतालका स्टाफ, आफ्ना जनप्रतिनिधि वा अन्य व्यक्तिसँग सम्पर्क गर्दा पनि बेड पाउने सम्भावना हुन्छ । अस्पतालको फिभर क्लिनिकमा उपचाररत भएर यी उपायको खोजी गर्नु बुद्धिमानी हुन्छ । गाह्रो भएको बेला सुरुमै घरबाट फोन गरेर बेड पाउने सम्भावना कम हुन्छ । विषम परिस्थितिमा अप्ठ्यारो भोगेर भए पनि उपचार पाइन्छ भने यो विकल्पलाई कहिल्यै पनि नजरअन्दाज गर्न हुँदैन ।

अस्पतालमा गएका हरेक बिरामीलाई आफ्नो समस्या सबैभन्दा ठूलो र महत्त्वपूर्ण लाग्छ । सबै चिकित्सक तथा नर्सले आफूलाई मात्र ख्याल गरे हुन्थ्यो भन्ने लाग्छ । चिकित्सक तथा नर्सको फोकस गम्भीर बिरामीमा हुन्छ । तसर्थ तपाईंलाई कम महत्त्व दिनुको अर्थ तपाईंको अवस्था खतरा छैन भनेर पनि बुझ्नुपर्छ । आफूलाई समस्या परेमा स्पष्ट रूपमा स्वास्थ्यकर्मीलाई बताउनुपर्छ । शालीन ढंगले आफ्नो समस्या राख्दा राम्रो उपचार पाउने सम्भावना बढी हुन्छ ।

सबैभन्दा ठूलो कुरा त मनोबल नै हो। म अस्पतालमा छु, छिटो/ढिलो उपचार पाउँछु। बेड पनि पाउँछु र सञ्चो भएर घर फर्किन्छु भन्ने तीव्र इच्छाशक्तिले तपाईंलाई बचाउनेछ । कतिपय बिरामी धेरै आत्तिएर पेनिक एट्याक हुन्छ। यस्तो अवस्थामा कोभिडका कारणभन्दा पनि आत्तिएका कारण स्वास्थ्य जटिल हुन्छ ।

एक सर्को सास बाँकी छउन्जेल आत्मबल कायम रह्यो भने त्यही एकसर्को सासले हामीलाई जीवनको सुन्दर बिहानीमा पुर्‍याउँछ । आत्मबल कमजोर भएमा स्वास्थ्य राम्रो भए पनि आकस्मिक घटना हुन सक्छ । तसर्थ उपचार र आत्मबल एकै सिक्काका २ पाटा भएको तथ्य कहिल्यै बिर्सिन हुँदैन । कहिल्यै पनि आत्मबलभन्दा रोग ठूलो हुँदैन ।

  • जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेको फेसबुकबाट
तपाईको प्रतिक्रिया