काठमाडौं – निजी क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार तोकिएको छ । यस सम्बन्धी राजपत्रमा सूचना प्रकाशन भएसँगै न्यूनतम पारिश्रमिक १५ हजार तय भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचनामा वृद्धि भएको न्यूनतम पारिश्रमिक आगामी १ साउनदेखि लागू हुने जनाएको छ । अब आधारभूत पारिश्रमिक ९ हजार ३८५ र महँगी भत्ता ५ हजार ५१५ गरी मासिक १५ हजार हुनेछ । यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक१३ हजार ४५० थियो ।
त्यस्तै, दैनिक आधारभूत पारिश्रमिक ३६१ र दैनिक महँगी भत्ता १६ गरी तय गरिएको छ । जस अनुसार, दैनिक न्यूनतम पारिश्रमिक ५७७ तथा प्रतिघण्टा आधारभूत पारिश्रमिक ४८ र महँगी भत्ता २९ गरी प्रतिघण्टा ७७ तोकिएको छ । यो चिया बगानमा काम गर्ने श्रमिकबाहेकको हो ।
यो पारिश्रमिकको अतिरिक्त श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानून बमोजिम श्रमिकले पाउने सञ्चयकोष र उपदान लगायत सुविधा रोजगारदाताले प्रदान गर्नुपर्ने मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बताए । सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम पारिश्रमिक लिनेदिने गरी कुनै रोजगार सम्झौता गर्न नपाइने पनि मन्त्रालयले जनाएको छ ।
सरकारले एकपक्षीय रूपमा न्यूनतम पारिश्रमिक तोकेको जनाउँदै श्रमिक र रोजगारदाता दुवैले असन्तुष्टि जनाएका छन् । श्रम ऐन, २०७४ मा प्रत्येक दुई-दुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरवलोकन हुने प्रावधान छ ।