काठमाडौं – नेपालीले विदेशमा घुमघाम र अध्ययनमा गर्ने खर्च घटेको छ । गत चैत ११ देखि सरकारले गरेको लकडाउनयता हरेक महिना घुमघाम र अध्ययनका लागि नेपालबाट बाहिरिने रकम घटेको हो ।
राष्ट्र बैंकको प्रतिवेदन अनुसार गत माघसम्म वैदेशिक अध्ययनका लागि नेपालीले १५ अर्ब ५७ करोड रुपैयाँ खर्चेका छन् । गत आर्थिक वर्षको सात महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो खर्च करिब २६ प्रतिशत घटेको हो । २०७६ माघसम्म वैदेशिक अध्ययनका लागि नेपालीहरूले २० अर्ब ९६ करोड रुपैयाँ खर्च गरेका थिए ।
यस्तै गत आर्थिक वर्षभरमा वैदेशिक अध्ययनका लागि नेपालीले २५ अर्ब ८१ करोड रुपैयाँ खर्च गरेको राष्ट्र बैंकको तथ्यांक छ । केही वर्षयता अध्ययन र भ्रमणका नाममा ठूलो रकम बाहिरिँदै आएकामा चालु आर्थिक वर्षको सुरुदेखि त्यस्तो खर्चमा सुधार आएको राष्ट्र बैंकको दाबी छ ।
विश्वभर फैलिएको कोभिड १९ महामारीका कारण सबैजसो देशमा लगाइएको लकडाउनले घुमघाम गर्दा र उच्च शिक्षा अध्ययनकै बाहिरिएको रकम घटेको मानिन्छ । अमेरिका, अस्ट्रेलिया, जापानलगायत राष्ट्रमा अध्ययका लागि जाने विद्यार्थी घटेकाले वैदेशिक अध्ययनमा हुने खर्चमा कमी आएको राष्ट्र बैंक बताउँछ ।
गत चैतयता विदेश भ्रमणका क्रममा नेपालीले गर्ने खर्चमा पनि कमी आएको प्रतिवेदनमा देखिन्छ । गत चैतमा विदेश भ्रमणमा नेपालीहरूले १ अर्ब ३० करोड रुपैयाँ खर्च गरेका थिए । गत वैशाख र जेठमा यस्तो खर्च झन घट्यो । र लकडाउन खुकुलोका साथै विभिन्न हटाइएसँगै विदेश भ्रमणका लागि जाने क्रम पनि बढेकाले त्यसबापतको खर्च बढ्न थालेको जनाइएको छ ।