काठमाडौं – सूर्य नेपालले सरकारलाई सबैभन्दा धेरै कर तिरेको छ । आन्तरिक राजस्व विभागले देशभरिमा सबैभन्दा बढी कर तिरेका उत्कृष्ट १५ करदातालाई सम्मान गरेको छ ।
आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि रहेको छ । सूर्य नेपाल यसअघि पनि पटक/पटक उत्कृष्ट करदाता घोषित भएको छ । यो कम्पनीले गत वर्ष ५ अर्ब ३१ करोड आयकर तिरेको थियो । यस्तै भ्याटतर्फ यो कम्पनीले ३ अर्ब ८७ करोड कर तिरेको थियो। ।
निर्यातकर्तामध्ये डाबर नेपाल प्रालिले सबैभन्दा बढी आयकर तिरेको छ । सबैभन्दा बढी आयकर तिर्ने विशेष उद्योगतर्फ हिमाल पावर लिमिटेड बनेको छ । सबै उत्कृष्ट करदातालाई बिहीबार काठमाडौँमा विशेष समारोहबीच सम्मान गरिएको छ ।
कृषि तथा पशुपंक्षी उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्नेमा अन्नपूर्ण एग्रो इण्डष्ट्रिज प्रालि छ । सहकारी तथा लघु वित्तमध्येबाट छिमेकी लघुवित्त वित्तीय लिमिटेडले सबैभन्दा बढी कर तिरेको छ । बैंक वित्तीय संस्थातर्फ नबिल बैंक लिमिटेड रहेको छ । नबिलले ९० करोड रुपैयाँ कर तिरेको छ ।
बिमा व्यावसायबाट नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, शिक्षा सेवामध्येबाट मनिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप, विप्रेषण कारोबारतर्फ आईएमई लिमिटेड उत्कृष्ट करदाता बनेका छन् । व्यापार व्यावसायमध्येबाट अग्नि इन्कर्पोरेट प्रालि, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले सबैभन्दा बढी कर तिरेको छ ।
मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदातामध्येबाट कामना सेवा विकास बैंकले सबैभन्दा बढी कर तिरेको छ । आन्तरिक राजस्व कार्यालयको कार्य क्षेत्रभित्रबाट सबैभन्दा बढी कर तिर्नेमा भिएस सर्भिस (मोरिसस) प्रालि उत्कृष्ट करदाता घोषित भएको छ। व्यवसायी विजयकुमार शाहले व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिरेका छन् ।
उत्कृष्ट कर सहभागीमध्येबाट मूल्य अभिवृद्धि करतर्फ वि.सं. २०६५ देखि २०७७ सम्म समयमै कर विवरण बुझाएका र आव २०७६/७७ मा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्नेमा घोराही सिमेन्ट इण्डष्ट्रिज प्रालि छ । उत्कृष्ट करदाताहरूलाई अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले पुरस्कार र प्रमाणपत्र दिएका छन् ।