काठमाडौं – नेपाल धितोपत्र बोर्डले सेयर बजारमा गैरआवासीय नेपाली (एनआरएन) भित्र्याउने प्रक्रियालाई नयाँ ढंगबाट पुनः अघि बढाएको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले एनआरएनलाई सेयर बजारमा भित्र्याउन धितोपत्र बजार र बाह्य लगानीका एक विज्ञलाई अध्ययन गर्न लगाएका छन् । बोर्डले केही हप्ता अघि ती विज्ञलाई एनआरएनलाई सेयर बजारमा भित्र्याउनका लागि आवश्यक प्रक्रिया अघि बढाउन गर्नुपर्ने थप कदमलगायका बारेमा अध्ययन गर्न लगाएको हो ।
उनले अध्ययन गरेर केही समयमा नै धितोपत्र रिपोर्ट बुझाउने बार्डले जानकारी दिएको छ । ती विज्ञले बोर्डमा प्रतिवेदन बुझाएपछि त्यसमा सरोकारवाल निकायहरुसँग आवश्यक छलफल गर्ने धितोपत्र बोर्डका साहयक प्रवक्ता रुपेश केसीले नेपाली पैसालाई बताए । तथापि, लामो समयदेखि एनआरएनलाई लगानी गर्न बाटो खुला गर्ने भनिए पनि अहिलेसम्म यस कामले मूर्तरुप लिन भने सकेको छैन ।
आम लगानीकर्ताले पनि एनआरएन भित्रिएपछि पुँजी बजारले फड्को मार्ने अपेक्षा गरेका छन् । यता, एनआरएनहरुले पनि सम्बन्धित निकायले अध्ययन, अनुसन्धान गरेर स्पष्ट नीति ल्याउन माग गर्दै आएका छन् । उनीहरुले निश्चित अवधिपछि मुनाफा तथा लगानी फिर्ता लैजाने नीति लिखित रुपमा व्यवस्था गरिनुपर्ने माग गर्दै आएका छन् ।
विशेष गरी लगानी फिर्ता लैजाने सम्बन्धी प्रष्ट कानुनी व्यवस्था नहुँदा एनआरएनलाई प्रत्यक्ष रुपमा बजारमा प्रवेश गराउन कठिनाई भएको हो । सरकारले लामो समयदेखि एनआरएनलाई सेयर बजारमा भित्र्याइने विषय बजेटमै उल्लेख गर्दै आएको छ । बजेटमा ‘गैर आवासीय नेपालीहरुले दोस्रो बजारमार्फत पनि लगानी गर्न सक्ने गरी पुँजी बजारलाई फराकिलो बनाइने’ भनिँदै आएको छ ।
यो विषय लामो समयदेखि बजेटको पानामा लेख्नेबाहेक थप उपलब्धि हुन सकेको छैन । धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष डा. रेवतबहादुर कार्कीको कार्यकालमा यो निकै चर्चाको विषय बनेको थियो । एनआरएन भित्र्याउन कार्यविधि बनाउन समिति गठन भयो तर पूर्णता पाएन । यसैबीच नयाँ अध्यक्ष आएको १४ महिना कटिसक्दा पनि यसले पूर्णता पाएको छैन ।
विगतमा यो विषय उठ्दा प्रविधिमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो । त्यति बेला सेयरलाई अभौतिकरण (डिम्याट) गर्नुपर्ने, अनलाइन प्रणाली सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता रहेको बताइएको थियो । तर अहिले पुँजी बजार प्रविधिमैत्री बनिसकेको छ । अनलाइन प्रणाली भित्रिएको छ । यति हुँदा पनि सेयर बजारमा एनआरएन भित्र्याउन नसक्नु भनेको नियामको कमजारी भएको जानकारहरुले बताएका छन् ।