काठमाडौं – कोरोनाका कारण जागीर र आम्दानी गुमाउनेको संख्या निकै ठूलो छ । पर्यटन तथा हस्तकला क्षेत्रका लाखौं व्यक्तिको आम्दानी सामान्य बन्न सकेको छैन । विद्यालयहरूले अझै शिक्षकलाई तलब दिइरहेका छैनन् । खुलेका व्यवसाय पूर्ण क्षमतामा चलेका छैनन् । तर, शेयरबजार र र घरजग्गा किनबेच भने निकै चम्केको पाइन्छ । अर्थतन्त्र सुस्ताउला यी क्षेत्रमा चाहिँ चमक किन आएको होला ?
अहिले अदालतको कित्ताकाट रोकेको छ । कोभिडपछि आर्थिक गतिविधिमा मन्दी आए पनि घरजग्गा कारोबार भने चम्किएको छ । पुसबाट चम्किएको घरजग्गाको कारोबार फागुनमा पनि कायमै छ । सबै मालपोत कार्यालयको कारोबार संख्या आउँदा ८० हजार पुग्ने अनुमान गरिएको छ । माघमा देशभर ७६ हजारकै हाराहारीमा घरजग्गा किनबेच भएको थियो । पुसमा भने अहिलेसम्मकै सर्वाधिक ८० हजार घरजग्गा किनबेच भएर राज्यले ७ अर्ब राजस्व पाएको थियो । फागुनमा घरजग्गा किनबेचबाट ३ अर्ब ८८ करोड रुपैयाँ रजिस्ट्रेशन शुल्क संकलन भएको देखिन्छ । जबकी माघमा ३ अर्ब ७७ करोड रुपैयाँ रजिस्ट्रेशन शुल्क संकलन भएको थियो ।
गत असोजदेखि घरजग्गा कारोबार फस्टाउन थालेको छ । घरजग्गा किनबेचको लागि पुस र माघ सिजनेबल महीना मानिन्छन् । हरेक वर्ष पुस र माघमा अन्य समयको भन्दा डेढदेखि दुई गुणा बढी कारोबार हुने गरेको छ । तर, यो वर्ष भने फागुनमा समेत कारोबारको ग्राफ निकै उकालो लागेपछि घरजग्गा व्यवसायीहरू खुशी देखिएका छन् । शेयरबजारबाट निस्किएका खेलाडीहरूले यति बेला धमाधम घरजग्गामा लगानी गरेको अनुमान छ । अर्थतन्त्र सुस्ताउँदा पनि घरजग्गामा लगानी गर्न यति ठूलो रकम कहाँबाट आइरहेको छ भन्ने प्रश्न उब्जिएको छ ।