आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

टोकियो – जापानको नेपाली समुदायमा अप्रत्याशित रुपमा कोरोना भाइरस संक्रमण फैलिरहेकोप्रति इमिग्रेशन ब्युरो अफ जापानले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै थप सजगता अपनाउन नेपाली समुदायमा बिशेष अपिल गरेको छ ।

Immigration Bureau of Japan, Residence Management Support Department, Residence Support Division Residence Support Section 3  का प्रमुख योसियामा आकिहिरोले समुद्रपारिसंग छोटो कुरा गर्दै नेपाली समुदायमा अस्वभाविकरुपमा संक्रमण फैलिरहेकोले थप चिन्ता बढेको र अहिलेको संवेदनशील स्थितिमा संक्रमणका मुख्यतया पाँचवटा जोखिम अवस्थाको पहिचान गरी सावधान हुनुपर्ने बताए ।

उनले चाडपर्व, भोजभतेर, जमघट र रमझम जस्ता क्रियाकलापमा बढि सावधानी अपनाउनुपर्ने तर्फ संकेत गर्दै सामुहिक संक्रमण फैलन सक्ने यस्ता अत्यन्त उच्च जोखिमका अवस्थाबाट टाढै रहनुपर्नेमा जोड दिए।
योसियामाले सामुहिकरुपमा गरिने भेला, जमघट या पार्टीहरुमा खाइपिई गर्दा सामुहिक कुराकानी-वार्तालाप, गानाबजाना जस्ता गतिविधि हुने र साँगुरो कोठामा धेरैजना बस्ने या भेला हुने र खाइपिई गर्दा संक्रमण फैलने जोखिम सँधै उच्च रहने हुँदा सकभर यसो नगर्न र गर्नैपरे विशेष सावधानी अपनाउन अपिल गरे ।

निर्दिष्ट आधारभुत स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्दै भेटघाटजन्य कार्यक्रम तथा सामुहिक खानपानको समयलाई सक्दो छोटो गरेमा संक्रमणको जोखिमलाई कम गर्न सकिने उनले बताए ।

जापानमा रहेका बिदेशीहरुमा भियतनामीपछि नेपाली समुदायमा संक्रमणको दर उच्च पाईएकोले सरोकारवला निकायहरुको यतिबेला नेपाली समुदायप्रति बढि ध्यान तानिएको बताईएको छ । संक्रमण थप फैलन नदिन अधिकारीहरुले बिभिन्न माध्यमबाट नेपालीहरुको जनमानससम्म सचेतनामुलक आफ्नो सन्देश पुर्‍याउन विभिन्न ढंगले प्रयासहरु भईरहेको सन्दर्भमा जापान इमिग्रेशनले पनि नेपाली समुदायलाई लक्षित गर्दै थप सजगता अपनाउन र सुरक्षित रहन बिशेष जोड दिएको हो ।

Immigration Bureau of Japan, Residence Management Support Department, Residence Support Division Residence Support Section 3 का प्रमुख योसियामाका अनुसार कोभिड-१९ संक्रमण हुने उच्च जोखिमका पाँच अवस्था यसप्रकार छन् ।
१. रक्सीजन्य पेय पदार्थ तथा खानापिन गर्दै कुराकानी गर्दाः
रक्सीजन्य पेय पदार्थ सेवन गरेको अवस्थामा संक्रमणका उच्च जोखिमबाट बच्न सक्ने अवस्था नरहन सक्छ भने अर्कोतर्फ यस्तो अवस्थामा स्वभाविकरुपले चर्को-चर्को स्वरले कुराकानी हुने भएकोले संक्रमणका लागि यो असाध्यै जोखिमपूर्ण अवस्था हो । यसैगरी साँगुरो र बाहिरको ताजा हावा खुल्ला प्रवाह हुन नसक्ने ठाउँमा थुप्रै मान्छेहरु लामो समयसम्म रहँदा संक्रमण हुन सक्ने संभावना उच्च रहन्छ ।
अन्य ब्यक्तिहरुसंग एउटै गिलास प्रयोग गरी पेय पदार्थ सेवन गर्ने र एउटै चपस्टिक वा चम्चाले खानेकुरा खाने गर्दा पनि संक्रमण फैलने गरेको अध्ययनले देखाएको छ ।

२. धेरैजना मानिसहरु जमघट गरी खानपिन तथा भोजभतेर गर्दाः
अन्य ब्यक्तिहरुसंग संगै खानपिन गर्दा निम्न कुरामा ध्यान दिनुहोला ।
क. सकेसम्म थोरै अर्थात सीमित ब्यक्तिहरु मात्र भएर संयुक्त खानपिन गर्नुहोला ।
ख. खानपिन गर्ने समय सक्दो छोटो गर्नुहोला ।
ग. ठूलो संख्यामा भेला भई खानपिन गर्दा ठूलो स्वरले कुराकानी हुन सक्ने भएकोले त्यस्तो अवस्थामा मुखबाट स-साना नदेखिने थुकका छिटा निस्केर पर-परसम्म पुग्न सक्ने र अन्यलाई संक्रमण हुन सक्ने संभावना प्रवल रहन्छ ।
घ. बाहिर पिउन जाने लत लागेको नै छ भने पनि एकदिनमा एउटै मात्र रेष्टुरेन्टमा जानु उपयुक्त हुन्छ । अर्थात एकैदिनमा फरक फरक वा धेरैवटा रेष्टुरेन्टमा जाँदा संक्रमणको जोखिम उच्च रहन्छ ।

३. मास्क बिना कुराकानी गर्दा :
मास्क नलगाईकन अन्य ब्यक्तिसंग नजिकै रहेर कुराकानी गर्दा, गीत गाउँदा, भाषण गर्दा थुकका स-साना छिटा निस्कने हुँदा संक्रमण फैलने संभावना उच्च रहन्छ । अन्य ब्यक्तिहरुसंग एउटै गाडि वा बसमा चढ्दा अनिवार्य मास्क लगाउनुहोला ।

४. साँगुरो कोठामा अन्य ब्यक्तिहरुसंग संगै बस्दा :
साँगुरो ठाउँमा अन्य ब्यक्तिहरु संग लामोसमयसम्म संगै रहँदा पनि संक्रमण फैलने खतरा उच्च रहन्छ । स्कुल तथा कलेजका होस्टेल वा एउटै कम्पनीमा काम गर्ने कर्मचारीहरु बस्ने आवासमा धेरैजनाले एउटै भान्सा, शौचालय र एउटै स्नानकक्ष संयुक्तरुपमा प्रयोग गर्नुपर्ने हुँदा संक्रमण फैलने जोखिम सँधै उच्च रहन्छ, त्यसैले अधिकतम सतर्कता अपनाउनुहोला ।

५. दैनिक कामको क्रममा छोटो समयका लागि स्थान परिवर्तन गर्दा :
रोजगारी, ब्यवसाय, अध्ययन वा अन्य सिलसिलामा जो सुकैले दैनिक कामको दौरानमा छोटो बिश्राम (क्युके) या लञ्चका लागि अन्यत्र जाँदा र पुनः कार्यकक्षमा फर्कदा संक्रमण फैलने गरेको छ । त्यसैले केहीबेर आरामका लागि रेष्ट गर्ने विश्राम कक्ष, ध्रुमपान कक्ष र चेञ्जीङ रुम (कपडा राख्ने वा फेर्ने कक्ष) मा जाँदा वा प्रयोग गर्दा उच्च सावधानी अपनाउनुहोला ।***

तपाईको प्रतिक्रिया