आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024
                                                                                                                                                                                                फाइल फोटो

काठमाडौं – नेपालबाट नर्सिङ केयर गिभरका रुपमा आज पहिलो नेपालीलाई जापान पठाइएको छ । नेपाल र जापान सरकारबीच भएको सम्झौता अनुसार नर्सिङ केयर गिभरका रुपमा बिनु गुरुङ जापान उडेकी हुन् ।

नेपालबाट जापानका विभिन्न १४ क्षेत्रमा दक्ष कामदार भिसामा कामदार लैजाने गरी नेपालका तर्फबाट तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच सहकार्यको समझदारी पत्रमा २०७५ चैत ११ गते हस्ताक्षर भएको थियो ।

सोही समझदारी अनुसार नै जापानले नेपालबाट पहिलो चरणमा नर्सिङ केयर गिभर कामदार लैजाने उल्लेख भएअनुसार गुरुङ शुक्रबार जापान गएकी हुन् । उनको गत मार्चमा नै भिसा अप्लाई गर्ने भनिएको भए पनि कोभिडका कारण भएको लकडाउन कारण रोकिएको थियो ।

जापान जानुअघि उनले केयर गिभर र जापानिज भाषा उत्तीर्ण गरेकी थिइन् । जापानको विभिन्न कम्पनीमा कामदारका रुपमा काम लगाउने एक कम्पनी डगउट कम्युनिटीका प्रतिनिधि प्रकाश आचार्यले उनीसँगै १५ जना अन्य कामदारहरु नर्सिङ कामदारको रुपमा जापान जान लागि भिसाको प्रक्रियामा रहेको जानकारी दिए ।

आचार्यले ६० जना व्यक्तिहरुले जापानिज भाषा उत्तीर्ण गरिसकेको र आफ्नो कम्पनीले ३२ जनालाई जापानका विभिन्न कम्पनीमा नियुक्ति दिलाइसकेको र तीमध्ये १५ जनाको भिसा अप्लाई गर्नका लागि पत्र आएको बताए ।

जापानमा कामदार संकट निम्तिएसँगै जापान सरकारले विदेशी कामदार भित्र्याउने नीति अघि सारेको छ । जापानले ५ वर्ष भित्रमा नेपालसँगै चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाइल्याण्ड, कम्बोडिया, भियतनाम, फिलिपिन्सबाट श्रमिक लैजाने जनाएको छ । यी मुलुकहरुबाट जापानले ३ लाख ४० हजार हाराहारीमा कामदार लैजाने भएको हो । –स्वास्थ्यखबरबाट

तपाईको प्रतिक्रिया