काठमाडौँ – माइक्रोसफ्टले रुसी र उत्तर कोरियाली ह्याकरले कोरोना भ्याक्सिनको अनुसन्धानसम्बन्धि डाटा चोरी गर्ने प्रयास गरेको खुलासा गरेको छ ।
शुक्रबार एक ब्लग लेख्दै माइक्रोसफ्टले हालैका महिनाहरूमा गरेको अधिकतम साइबर हमला असफल भएको भन्दै रुसी र उत्तर कोरियाका ह्याकरले औषधि कम्पनिका भ्याक्सिन सम्बन्धि अनुसन्धानका डाटा चोरी गर्ने प्रयास गरेको उल्लेख गरेको छ ।
माइक्रोसफ्टले कति यस्ता साइबर हमला सफल भए या भएनन् अथवा कति गम्भीर थिए भन्ने बारेमा भने उल्लेख गरेको छैन । अमेरिकी सरकारले यस्तो साइबर आक्रमणको जानकारी दिदै गत जुलाईमा नै चीनका ह्याकरहरुले भ्याक्सिन सम्बन्धि जानकारी चोरी गर्ने प्रयास गरेको बताएको थियो ।
माइक्रोसफ्टले अहिले ह्याकरहरुले निशाना बनाएका कम्पनिहरु क्यानाडा, फ्रान्स, भारत, दक्षिण कोरिया र अमेरिकामा कोरोनाको भ्याक्सिनमा अनुसन्धान गरिरहेका कम्पनिहरु रहेको देखिएको बताएको छ । माइक्रोसफ्टले ह्याकर समुहको समेत पहिचान भएको भन्दै एक ‘फेन्सी बीयर’ ह्याकर समुह रुसको सैन्य एजेन्ट भएको बताएको छ भने अर्का दुई समुह लेजारुस ग्रुप र सेरियम उत्तर कोरियाको भएको उल्लेख गरेको छ ।