काठमाडौं – अमेरिकी सरकारले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान भेन्टिलेटर हस्तान्तरण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सम्पन्न एक कार्यक्रमबीच नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।
मन्त्री ढकालले भेन्टिलेटर सहयोगका लागि अमेरिकी सरकार र राजदूत बेरीलाई नेपाल सरकार र नेपाली जनताका तर्फबाट धन्यवाद दिए । कोरोनाबाट सबैभन्दा प्रभावति भएको अमेरिकाले नै महामारीको लडाइँमा नेपाललाई भेन्टिलेटर सहयोग गरेकोमा खुशी रहेको पनि ढकालले बताए ।
ढकालले अमेरिकाले दिएको भेन्टिलेटर सात प्रदेशका सामाजिक विकास मन्त्रालयका लागि सात÷सात वटा र बाँकी रहेका ५१ वटा भेन्टिलेटर सरकारी अस्पतालमा दुई दुईवटाको दरले वितरण गरिने पनि जानकारी दिए ।
कोरोना विरुद्धको लडाइँमा अमेरिकाको अनुभव नेपालका लागि महत्त्वपूर्ण हुने समेत मन्त्री ढकालले उल्लेख गरे । कोभिड १९ को खोप अमेरिकाका जनता र नेपाली जनताले सँगसँगै पाउने अपेक्षासमेत उनले गरे ।
अमेरिकी राजदूत बेरीले असल र खराब दुबै समयमा अमेरिका नेपालसँग साझेदारीप्रति प्रतिबद्ध रहेको बताए । नेपाल सरकारसँग समन्वय गर्दै जीवनरक्षा सहयोगका लागि समग्र अमेरिका विधि उपलब्ध गराउने कार्यमा प्रतिवद्ध रहेको समेत उनले उल्लेख गरे ।