आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं – न्यूज २४ च्यानलको ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछानेलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमण पुष्टि भइसकेपछि उनी यतिखेर आफ्नै निवासबाट दैनिक कार्यक्रम प्रसारण गर्दै आइरहेका छन्।

कोरोना संक्रमित व्यक्तिले संक्रमण नभएका व्यक्तिसँग सम्पर्क गर्न हुँदैन। यदि सम्पर्क गर्न परेमा निश्चित सामाजिक दूरी कायम गर्नुपर्ने हुन्छ। तर, लामिछानेले आइतबारको कार्यक्रममा आयुर्वेद चिकित्सकलाई बोलाइ प्रत्यक्ष कुराकानी गरी कार्यक्रम गरेका छन्।

कार्यक्रम हेर्दा त्यहाँ कुनै पनि स्वास्थ्य मापदण्ड पालना गरिएको थिएन। अन्तवार्ता दिने आयुर्वेद चिकित्सकले मास्क समेत लगाएका थिएनन्‌ भने स्वास्थ्य मापदण्डका विधिहरु पनि अपनाएका थिएनन्। उनले कार्यक्रममा कोरोनाबाट संक्रमित धेरै मानिसहरूको उपचार गरेको दाबी गरेका छन्‌।

​कोरोना संक्रमितहरू हिँडडुल गरेको पाइएमा वा संक्रमण नभएका व्यक्तिहरुको सम्पर्कमा आएमा कानुनअनुसार कारबाही हुने स्वास्थ्य मन्त्रालयले बताइसकेको छ। यदि कसैले त्यस्तो गरेमा संक्रामक रोग ऐन, २०२० अनुसार ६ महिना जेल वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्छ।

नेपाल सरकारले जारी गरेको स्वास्थ्य निर्देशन र सूचनाहरु तथा विश्व स्वास्थ्य संगठनले प्रतिपादन गरेका सिद्धान्त विपरीत र दण्डनीय भएको र जनस्वास्थ्यमा गम्भीर खेलबाड भएको तथा सरकारको प्रयासहरूलाई दुरुत्साहित गरिएको आयुर्वेदिक चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवाली बताउँछन्।

कार्यक्रममा बोलिएका सबै विचारहरु आयुर्वेद सिद्धान्त विपरीत रहेको उनको ठहर छ। आयुर्वेद चिकित्सा सम्बन्धि भ्रम फैलाउने, आयुर्वेदको सिद्धान्त विपरीतका जडिबुटी र विधि सिफारिस गर्दा जनसाधारणमा भ्रम पैदा भई रोगको जोखिम बढाउने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया