काठमाडौं – कोभिड–१९ को परीक्षण र उपचार खर्च व्यहोर्न सरकार पन्छिएपछि महामारी तीव्र फैलिएर भयावह हुने जोखिम बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ मा निश्चित समूहलाई प्रमाणको आधारमा निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो । जुन निर्णयपछि संक्रमितहरु थलिए पनि उपचार गर्न अस्पताल जान छाड्नाले होम आइसोलेसनमा मृत्यु हुनेको दर बढेको छ ।
सरकार कन्ट्याक्ट ट्रेसिङमा पनि चुकेको विज्ञहरु बताउँछन् । अस्पतालमा शय्या अभावले संक्रमितको ज्यान जाँदा पनि सरकारले अनुगमन गर्न नसकेको उनीहरुको भनाइ छ । संक्रमित र उसको सम्पर्कमा भएका व्यक्तिको निगरानी राज्यले नगर्दा कोही घरमै मृत्यु हुन्छ, कोही रोग सारेको सार्यै हिँड्छन् ।
यता, स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कोभिडले हालसम्म मृत्यु भएका ७५ प्रतिशतमा पहिलेदेखि नै गम्भीर रहेको देखिएको छ भने केही नभएका र कोभिड लक्षण मात्र भएका करिब २५ प्रतिशतको समेत मृत्यु भएको छ ।***