आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं – कोरोना भाइरस जाडोमा लामो समयसम्म रहने हुँदा विशेष सावधानी अपनाउन चिकित्सकहरुले सुझाएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवम् जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासीनीले जाडोबाट बच्‍न घरका झ्यालढोका बन्द गरिँदा हावा ओहोरदोहोर नहुने हुँदा कोरोना संक्रमण फैलने संभावना बढी हुने बताउँछन् ।

उनले भने, – ‘जाडोमा चिसोबाट बच्न झ्यालढोका बन्द गरिने हिटर ताप्ने, आगो ताप्न एकै ठाउँमा धेरै जना बस्दा संक्रमण फैलिने संभावना बढी हुन्छ ।’ उनका अनुसार जाडोयाममा कोरोनासंगै इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) समेत देखिने हुनाले अहिले पनि आमव्यक्तिमा कोरोना संक्रमणको त्रास पनि बढेको छ ।

उनका अनुसार जाडोमा कोरोना भाइरस सतहमा धेरैबेरसम्म जीवित रहने हुँदा अझ फैलन सक्छ । अझ ज्येष्ठ नागरिकलाई कोरोना र इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) बाट बचाउन ध्यान दिन आवश्यक छ ।

उनले भने- ‘ज्येष्ठ नागरिकलाई इन्फ्लुएन्जा अर्थात मौसमी रुघाखोकी विरुध्दको खोप समयमै दिन सकिन्छ ।’ यदि कोरोना भाइरस र इन्फ्लुएन्जा अर्थात मौसमी रुघाखोकी बढेमा मृत्युदर समेत बढ्ने खतरा हुने उनको भनाइ छ ।

उनका अनुसार इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) मा ३ सय जनामा एक जनाको मृत्यु हुनेको गरेको देखिएको छ भने नेपालमा कोरोना संक्रमणबाट एक सय ५० जनामा एक जनामा मृत्यु भएको देखिन्छ । यसैगरी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल संयोजक डा. शेरबहादुर पुनले मौसमी रुघाखोकी देखिएका व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएमा झन जोखिम बढ्ने बताउँछन् ।

कोरोना र इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) का लक्षण एकदमै मिल्दोजुल्दो भएकाले मानिसहरुमा डर बढेको उनले जानकारी दिए । उनका अनुसार जाडो बढेसंगै इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) को समस्या समेत देखिन थालेको छ । उनले भने, – ‘ज्वरो आउने, टाउको दुख्‍ने, खोकी लाग्ने, शरीर दुख्ने, घाँटी खसखस गर्ने लक्षण दुबैमा देखिन्छ तर गन्ध, स्वाद र आँखा दुख्‍ने समस्या देखिएमा इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) नभएर कोरोना संक्रमण भएको हुने देखिन्छ ।’

कोरोना संक्रमण फैलिएको क्षेत्रबाट आएका, कोरोना संक्रमितको सम्पर्कमा आएका गन्ध, स्वाद र आँखा दुख्‍ने समस्या देखिएमा पीसीआर परीक्षण गर्ने वा चिकित्सकसंग परार्मश लिनुपर्ने उनको सुझाब छ ।

विभिन्न अध्ययन हेर्दा जाडो महिनामा कोरोना भाइरस हावामा लामो समयसम्म रहने देखिएको उनले जानकारी दिए । पहिलो पटक चीनको वुहानमा कोरोना संक्रमण जाडो महिनामै देखिएको थियो । त्यसै पनि जाडोमा धेरै भाइरसहरु सक्रिय हुने गरेको देखिएको उनले बताए ।

उनका अनुसार कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यको मापदण्ड राम्रोसंग पालना गर्नुपर्दछ ।कोरोना संक्रमणबाट बच्न अनिवार्य सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, बिना काम सकेसम्म घरबाहिर नजाने र कसैलाई पनि नबोलाउने गर्नुपर्दछ । ***

तपाईको प्रतिक्रिया