काठमाडौं – बलिउड अभिनेता कार्तिक आर्यनलाई तीन महत्वपूर्ण फिल्मबाट निकालिएको खबर अहिले निकै चर्चामा रहेको छ ।
बलिउडमा अहिले सबैभन्दा चर्चामा रहेका अभिनेता कार्तिकले इरोस इन्टरनेसनलको ब्यानरसंग सम्झौता हुन लागेको तीन ठूलो बजेटका फिल्म गुमाउनु परेको रिपोर्ट बाहिर आएको छ ।
केहि समय अघिदेखि कार्तिक र इरोसबीच तीन फिल्मको डिल बारे कुराकानी भइरहेको थियो । डिल लगभग भइसकेको अवस्थामा अहिले इरोस सो डिलबाट पछि हटेको बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार कार्तिकलाई इरोसले तीन फिल्मका लागि पाँच बर्षको सम्झौतामा बाध्ने प्रयास गरेको थियो । तर इरोसले फिल्मको बारेमा नबताउने शर्तमा सम्झौता गर्नुपर्ने बताएपछि कार्तिक असहमत भएको बताइएको छ । तीन फिल्मका लागि कार्तिकलाई इरोसले ७५ करोड दिने बताएको थियो । तर आँखा चिम्लेर सम्झौता गर्नबाट कार्तिक पछि हटेपछि सो सम्झौता हुन नसकेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
कार्तिक आर्यन अहिले भुल भुलैया-२, दोस्ताना-२ जस्ता ठूलो बजेटका फिल्ममा व्यस्त छन् । यी दुई फिल्मको सुटिंग फेरी शुरु गर्नु अघि कार्तिकले राम माधवनको थ्रिलर फिल्म शुरु गर्न लागेको बताइएको छ ।
कार्तिक आर्यनको पछिल्लो फिल्म लव आजकल बक्स अफिसमा फ्लप भएको थियो । यस फिल्मपछि अभिनेत्री सारा अली खानसंग उनको ब्रेकअप भएको रिपोर्ट बाहिर आएको थियो । @