शुक्रबार, जेठ ११, २०८१
Friday, May 24, 2024

काठमाडौँ – यो गर्मी याम भारतमा निकै नै असामान्य रह्यो। कोरोनाभाइरस महामारीका कारण मार्चदेखि बन्द भएका चलचित्रघरमा दशौँ लाख फिल्म प्रशंसक भारतीयहरू आफ्ना प्रिय चलचित्र हेर्न जान पाएनन्।

तर घरभित्र थुनिएका परिवारहरूका निम्ति अनलाइनमार्फत् मनोरञ्जनका सामग्री पस्किने स्ट्रीमिङ प्ल्याटफर्महरूले यो रिक्तता पूर्ति गर्ने ठूलो प्रयास गरे।

यस अवधिमा आफ्ना नोक्सानी घटाउन कैयौँ चलचित्रहरूले ठूला हलको साटो सानो पर्दामा नै तिनका फिल्म रिलीज गरेका छन्। नेटफ्लिक्स, अमेजनको प्राइम भिडिओ तथा डिस्ने+हटस्टारजस्ता स्ट्रीमिङ सेवा प्ल्याटफर्मका निम्ति बनाइने फिल्म वा सिरिजका निम्ति बलीवुडका हस्तीहरूले एकपछि अर्को चाहना देखाएका छन्।

हुन त महामारी अगावैदेखि ठूलो पर्दा र सानो पर्दाको दूरी मेटिने क्रम सुरु भइसकेको थियो। सिनेमाघरका मालिकहरूमा विस्मय जन्माउनेगरी महामारीले पहिल्यैदेखि बिस्तारै हुन थालेको रूपान्तरणलाई तीव्र गति प्रदान गरेको छ।

फलस्वरूप फिल्म पत्रकार असीम छाब्रा भन्छन्, “अहिले आएर बलीवुडले यो रूपान्तरणमा सहभागी हुन दौडिनुपरेको छ, आफूलाई बदल्नु परेको छ र कतिपय मामिलामा त सम्झौता समेत गर्नुपरेको छ।”

बदलिँदो मनोरञ्जन

जुन महिनामा ‘गुलाबो सिताबो’ नामक चलचित्र अनलाइनमा रिलीज हुने पहिलो त्यस्तो फिल्म थियो जसमा मुम्बईका सबभन्दा चर्चितमध्येका अभिनेता अमिताभ बच्चनको अभिनय थियो। त्यसपछि भारतीय गणितज्ञ महिलाको जीवनमा आधारित ‘शकुन्तला देवी’, लडाकु विमान चलाउने महिलाको जीवनबाट प्रभावित ‘गुञ्जन सक्सेना’ तथा सन् १९९१ को चलचित्रको अर्को भागको रूपमा आएको ‘सडक २’ फिल्महरू उसैगरी सार्वजनिक भए।

ठूलो पर्दाका निम्ति बनाइएका यी चलचित्रहरूको निम्ति अहिलेको समयमा स्ट्रीमिङ प्ल्याटफर्म एक मात्र विकल्प हुनुका साथै स्वाभाविक विकल्प पनि रह्यो।

सेन्सर बोर्डहरूले सम्भावित कैँची चलाउने दृश्य वा सन्दर्भ अनि फरक धारका कथासहितका मनोरञ्जनका सामग्री पस्किएर विशेषतः सहरी तथा युवा समुदायमाझ यस्ता प्ल्याटफर्म लोकप्रिय भइसकेका छन्।

“धेरैले के थाहा पाए भने स्ट्रीमिङ भनेको भविष्य होइन, वर्तमान पनि हो,” नेटफ्लिक्स इन्डिया कन्टेन्टकी उपाध्यक्ष मोनिका शेर्गिलले भनिन्।

बलीवुडको रोजाइको मञ्च अहिले उपलब्ध नभएको अवस्थामा स्ट्रीमिडले कडा प्रतिस्पर्धापनि बेहोरिरहेको छ।

नेटफ्लिक्स र अमेजनको प्राइम भिडिओसँग भारतमा सबभन्दा ठूलो बजार हिस्सा रहेको छ। नेटफ्लिक्सले यो वर्ष अहिलेसम्म भारतमा १८ वटा मौलिक प्रस्तुति पस्किसकेको छ भने प्राइमले सन् २०२० भरिमा १४ वटा मौलिक प्रस्तुति पस्किने बताएको छ।

डिस्ने+हटस्टारले जुलाई २४ यता हलमा रिलीज गर्न बनाइएका सातवटा चलचित्र आफ्नो सेवामार्फत् सार्वजनिक गरिने जनाएको छ।

यी सेवाले सिनेमा र टेलिभिजनबीचको स्पष्ट खाडल पुर्न सहयोग पुगेको छाब्रा बताउँछन्। “अमेरिकामा यो भिन्नता अस्पष्ट छ। त्यहाँ कतिपय चर्चित हलीवुड कलाकारले सुरुमा टीभीमा अभिनय गरेको पृष्ठभूमि पाइन्छ,” उनले भने।

बलीवुडमा त्यस्तो दुर्लभै हुन्छ। यहाँ कलाकार बन्न चाहनेहरू जसको निम्ति बलीवुडमा काम पाउन मुस्किल हुनसक्थ्यो – उनीहरूका निम्ति स्ट्रीमिङ प्ल्याटफर्मले राम्रो अवसर दिएका छन्।

पछिल्लो समयमा त नेटफ्लिक्स तथा अमेजनले भारतीय सिनेउद्योगका हस्तीहरूलाई समेत आकर्षित गर्न थालेको छ।

तपाईको प्रतिक्रिया