मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

काठमाडौं – काठमाडौँका सडकमा छाडिएका गाई, बाच्छा र साँढे कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाकै वेला बेपत्ता हुन थालेको संरक्षण अभियानकर्मीहरुले बताएका छन् । ती जनावर मासुको लागि तस्करी हुन थालेको पनि उनीहरुको दाबी छ ।

छाडा गाईबाच्छा संरक्षण अभियानकर्मी उत्तम पुडासैनीले आफूहरुले नदी किनार र एकान्तस्थलमा ठूलो परिणाममा विभिन्न अंग भेटाएको बताए । उनले भने, “तराईबाट राजधानीसम्म आउने राँगा र भैँसीको आपूर्ति ठप्प हुँदा पनि मासु खानेको तृष्णा ठप्प भएको हुँदैन, सडकमा छाडिएका ती अबोध प्राणीमाथि गिद्देदृष्टि परेका अनेकौँ उदाहरण हामीसँग छ ।”

एकैदिनमा १८ वटा गाई, बाच्छाका मासुविनाका शरीर (भुँडी मात्र) को अन्तिम संस्कार गरेको संरक्षण अभियानले जनाएको छ । सडकमा अघिल्लो दिन देखिएका बाच्छा भोलिपल्ट बेपत्ता भएका र ती बाच्छाबाच्छीलाई फेरि कहिल्यै नदेखिनुको पछाडि पनि यस्तै कारण हुनसक्ने अभियानको ठहर छ । गाईमाथिको क्रुरता बन्द गर्न सरोकार भएका निकायको ध्यान जानुपर्ने छाडा गाईबाच्छा संरक्षण अभियानकर्मीको माग छ ।

अभियानसँग ३०० असहाय गाई, बाच्छाको संरक्षण गर्नसक्ने भौतिक संरचना तयार भएकाले उद्धार गरी आश्रयस्थलसम्म ल्याइदिन अभियानले आह्वान गरेको छ । पशुपति क्षेत्र विकास कोषले कागेश्वरी मनोहरा नगरपालिकास्थित गोठाटारमा उपलब्ध गराएको जग्गामा यस्तो संरचना बनाइएको अभियानकर्मी पुडासैनीले बताए ।

पछिल्ला दिनमा पाल्न लैजाने बहानामा सडक र नदी किनारमा भेटिने गौप्राणीलाई गाडीमा राखेर लैजाने गिरोह सक्रिय भएको छ । यस्तो दृश्य देखिएमा प्रतिरोध गर्न र सम्बन्धित निकायको कुनै आधिकारिक पत्रविना त्यस्ता प्राणीलाई लैजानबाट रोक्न सबै लागि पर्नुपर्ने अभियानले जोड दिएको छ ।

काठमाडौँ उपत्यकामा गाईपालकले बाच्छा जन्मिए एक महिना नबित्दै सडक, नदी किनार, मठ मन्दिर जस्ता स्थानमा लगी छोडिदिने गरेका छन् । यसतर्फ स्थानीय सरकारको ध्यान नगएकाले समस्या बढ्न थालेको अभियानले जनाएको छ । –रासस 

तपाईको प्रतिक्रिया