शुक्रबार, जेठ ११, २०८१
Friday, May 24, 2024

टोकियो – कोरोना भाइरस प्रकोप नियन्त्रण प्रयासस्वरूप भाइरस संक्रमण फैलिन नदिन विभिन्न देशमा लकडाउन र सामाजिक दूरीलाई मुख्य प्राथमिकतामा राखिएको छ । मानिसलाई मास्क र सेनिटाइजरको प्रयोग अनिवार्यजस्तै गरिएको छ ।

यसैगरी कोरोना संक्रमित बिरामीको पहिचान गर्न विभिन्न देशले स्वाब परीक्षण तीव्र पारेका छन् । विकसित देशहरुमा परीक्षणले तीव्रता पाए पनि अल्पविकसित र विकासोन्मुख देशहरुमा कछुवाको गतिमा स्वाब परीक्षण भइरहेका छन् ।

अहिले कोरोना संक्रमण पत्ता लगाउने भरपर्दो माध्यम भनेका स्वाब परीक्षण नै रहेको छ । स्वाब मानिसका नाकबाट लिइन्छ । स्वाब संकलनका क्रममा खासै अप्ठेरो नभए पनि कतिपय मानिस डराउने गरेको पाइएको छ ।

यसबीच जापानले घरमै बसेर कोरोना परीक्षण गर्न सकिने विधिको विकास गरेको छ ।  मानिसको मुखमा जम्मा हुने पानी – सलाइभा (र्‍याल) लिएर परीक्षण गर्न सकिने उक्त विधिबाट अब धेरै मानिसहरुले घरमै बसेर आफू कोरोनाबाट संक्रमित भए नभएको पत्ता लगाउन सक्ने जापानी अनुसन्धानकर्ताहरुको दाबी छ ।

अब यदि जपानका अनुसन्धानकर्ताहरु नयाँ प्रविधिको परीक्षणमा सफल भएमा नाकबाट स्वाब संकलन गर्नुपर्ने झन्झटबाट मानिसहरु मुक्त हुनेछन् ।

यो प्रविधिमा सलाइभा (र्‍याल)का नमूनालाई लगभग ९५ डिग्री वा करिब २ मिनेट तताइन्छ र रिएजेन्ट राखिन्छ । रिएजेन्ट राख्दा भाइरस भएका र्‍यालका नमूनामा रंग परिवर्तन हुन्छन । यसरी मानिसहरुले छोटो समय र सहज तरिकाले संक्रमण जाँच गर्न सक्नेछन्  ।

यद्यपि जापानी अनुसन्धानकर्ताहरुले सलाइभाबाट कोरोना परीक्षणका विषयमा विस्तृत जानकारी भने उपलब्ध गराइसकेका छैनन्।

निहोन विश्वविद्यालय, गुन्मा विश्वविद्यालय र टोकियो विश्वविद्यालय मिलेर विकास गरेको उक्त विधिलाई परीक्षण पश्चात जापानको मेडिकल फर्म Shionogi & Co. ले बजारमा ल्याउने भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया