शुक्रबार, जेठ ११, २०८१
Friday, May 24, 2024

टोकियो – सन् २०१४ मा जापानी रसायनिक कम्पनी फुजिफिल्म होल्डिङ कम्पनीले बनाएको औषधि फेभिपिराभिर (अविगान) कोरोना भाइरस (कोभिड-१९) विरुद्ध प्रयोगका लागि परीक्षण भइरहेको छ ।

चीन र जापानका अनुसन्धानकर्ताहरूले केही महिना अघिदेखि नै फेभिपिराभिरको प्रभावकारिताको अध्ययन गरिरहेका हुन् ।

यो औषधिले मानिसको कोषमा भाइरसको संख्या वृद्धि गर्नबाट रोक्छ ।

मार्चमा  चीनमा गरिएको प्रयोगका क्रममा कोभिड-१९ विरुद्धको उपचारमा सहयोग पुगेको पाइएको थियो र त्यसैको आधारमा अनुसन्धानकर्ता टोलीले फिभिपिराभिर औषधिले कोभिड-१९ विरुद्धको उपचारमा सकारात्मक असर पार्ने उल्लेख गरेको थियो ।

यद्यपि हाल भइरहेको क्लिनिकल परीक्षणको अवधिमा फेभिपिराभिरले श्वास–प्रश्वास रोगको उपचारमा उल्लेखनिय प्रभावकारिता नदेखाएको जापानी मिडियाहरुमा जनाइएको छ।

क्लिनिकल परीक्षणका क्रममा सामान्य लक्षण भएका र लक्षण नै नदेखिएका कोरोना सक्रमित व्यक्तिहरुहरुको उपचारमा सो औषधि प्रयोग गरिएको छ ।

चीनमा गरिएको परीक्षणमा त्यो औषधी दिइएपछि भाइरसको वृद्धि हुने दर घटेको र बिरामीहरूमा कोभिड-१९ का लक्षणहरू घटाउन सहयोग पुगेको चिकित्सकहरूले बताएका थिए।

औषधिले संक्रमितको निको हुने समय र जटिल अवस्थालाई न्यूनीकरण गर्न सक्ने विश्वास रहेको बताइएता पनि  अधिकारीहरूले त्यो औषधी अझै पूरै प्रभावकारी नभएको र त्यसले गर्भवती महिलामा खराब असर गर्ने बताइरहेका छन्।

यसले फेभिपिराभिर औषधिको अनुमोदन हुने बारेमा शंका उब्जिएको छ।

जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले परीक्षणको  नतिजाको संक्षिप्त विवरण  पाएपछि   अनुमोदनको लागि प्रक्रिया बढाउने जनाएको छ।

तपाईको प्रतिक्रिया