बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

टोकियो– कोरोना भाइरसका कारण व्यक्तिहरु घरमै बसेपछि जापानमा सौन्दर्य सामाग्रीहरुको बिक्री घद्धेको छ । विशेषगरि लिपस्टिकको विक्रीमा उच्च कमी आएको पाइएको विक्रेता कम्पनीहरुलाई उधृत गर्दै माइनिची सिन्बुनले आफ्नो अनलाइन संस्करणमा लेखेको छ ।

भाइरसको संक्रमण फैलिन नदिन युवती तथा महिलाहरुले आफ्नो मुहार मास्कले ढाक्न थालेसँगै लिपस्टिक सहितका अन्य सौन्दर्य सामाग्रीहरुको को विक्री प्रभावित भएको हो ।

सौन्दर्य सामाग्रीहरु बिक्री गर्दै आएको फुकुओकामा अबस्थित ञक स्टोरमा रहेको तखतामा टेष्ट गर्ने लिपस्टिक तथा अन्य सामाग्रीहरु त्यतिकै राखिएका हुन्थे । तर सरकारले आपतकाल घोषणा गर्नु अघि अप्रिलको शुरुमै सञ्चालकले टेष्टर हटाएका छन् । स्टोरमा लिपस्टिक किन्न आउने सबैले टेष्टरको प्रयोग गर्ने भएकोले संक्रमण फैलिने चिन्तामा त्यसो गरिएको थियो ।

स्टोर संचालकहरुका अनुसार फाउन्डेशन, ब्लशर र आई मेकअपको विक्री पनि गत वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा २० प्रतिशतले घटेको छ । लिप मेकअप प्रडक्टको विक्री भने आधामा आएको छ ।

लिप मेकअपका साधनको माग अप्रिलमा उल्लेख्य घटेको छ । गत महीना यसको विक्री ६० प्रतिशतभन्दा धेरैले घटेको छ ।

मुहारको तल्लो आधा हिस्सा छोप्ने फेस मास्क दैनिक जीवनमा अत्यावश्यक बनेको छ । उपभोक्ताहरुले अहिले आफूलाई जे चाहिएको छ त्यो मात्रै किनिरहेका छन् र यो कुरा मेकअपमा पनि लागू भएको देखिन्छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको तथ्यांक शाखाले मार्चमा गरेको घरपरिवारको खर्च सर्वेक्षणले पनि सन् २०१९ को सोही महिनाको तुलनामा लिपस्टिकको विक्री २२ दशमलव २ प्रतिशतले घटेको छ ।

मास्कमा लागेको लिपस्टिकको दाग हत्तपत्त नजाने भएकोले पनि विक्री प्रभावित भएको हो । सामान्य अवस्थामा कस्मेटिक कम्पनीहरुले लिपस्टिक लगायत नयाँ मेकअप लाइन लञ्च गर्थे । तर यस वर्ष कम्पनीहरुले नयाँ लञ्च स्थगित गरेका छन् ।

आपतकाल घोषणा गरिएकोले स्टोरहरु अस्थायी रुपमा बन्द हुँदा उत्पादनसम्बन्धी जानकारी दिन नसकेको कस्मेटिक कम्पनी काओ कर्पोरेशनका सार्वजनिक सम्बन्ध विभागले बताएको छ । ***

तपाईको प्रतिक्रिया