शुक्रबार, जेठ ११, २०८१
Friday, May 24, 2024

टोकियो – कोरोना भाइरसको संक्रमण फैलिन नदिन जापानभर लगाइएको आपतकाल हटाइएको पहिलो सप्ताहअन्तमा जापानका विभिन्न प्रिफेक्चरहरुमा संचालित व्यवसायहरु पूनः संचालनमा आउन सुरु गरेका छन् । कोरोना भाइरसको संक्रमण घटेका र स्वास्थ्य क्षेत्र मजबुद देखिएका विभिन्न ३९ प्रिफेक्चरमा गत विहिबारदेखि आपतकाल हटाइएसंगै व्यवसायहरु खुल्न सुरु गरेको जापानी संचारमाध्यमहरुले जनाएका छन् ।

मियागी प्रिफेक्चरको सेन्दाई मिचुकोसी डिपार्टमेन्ट स्टोरले एक महिना लामो बन्द रहेको आफ्नो स्टोर शनिबारदेखि खुल्ला गरेको छ । कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्नका लागि स्टोरका प्रवेशद्धारहरुमा शरिरको तापक्रम मापन गर्न सक्ने विशेष क्यामेरा जडान गरिएको छ भने कामदारहरुलाई अनिवार्य मास्क प्रयोग गर्न भनिएको छ । आगन्तुकहरुलाई ह्याण्ड स्यानिटाइजरको प्रयोग अनिवार्य समेत गरिएको छ ।

गुन्मा प्रिफेक्चरमा संचालित इओन मलहरु संचालनमा आएका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्टोरभित्र एकैपटक प्रवेश गर्न पाउने क्रेताहरुको संख्या भने सिमित गरिएको छ । स्टोरलाई साविकभन्दा २ घण्टा पहिलेनै बन्द गर्ने योजना छ ।

ओसाका प्रिफेक्चरमा आपतकाल जारी छ तर ओसाका प्रिफेक्चर सरकारले भने अब व्यवसाय बन्द गर्नका लागि अनुरोध नगर्ने भएको छ । त्यहाँ पनि व्यवसायहरु खुल्न सुरु भएको र मानिसहरुको चहलपहल बढेको बताइएको छ ।

यस्तै, जापानका अन्य प्रिफेक्चरहरुमा पनि व्यवसायहरु खुलिरहेका छन् । बिस्तारै जनजीबन सामान्य बन्दै गइरहेको छ ।

तपाईको प्रतिक्रिया