शुक्रबार, जेठ ११, २०८१
Friday, May 24, 2024

टोकियो – मान्छेहरु एकान्तमा किन गुनगुनाउँछन् ? गीत-संगीतको मर्म बुझेकालाई यो प्रश्नको जबाफ छोटोमा दिन गाह्रै हुन्छ । बिहान उठ्ने बित्तिक्कै आफुलाई मनपर्ने गीत गुनगुनाउँदा तत्काल मुड फ्रेश हुनुका साथै निद्राले झट्ट छोड्छ । दिनभरि गर्नुपर्ने कामको तयारीमा लाग्न सहज बनाईदिन्छ । बाथरुम होस् या शौचालय गीत गुनगुनाउँदा समय ब्यतित गर्न सहज हुनुका साथै दिमागी ताजगी पैदा गरिदिन्छ । यी त भए सर्बसाधारण जनजीवनका दिनचर्यामा लागू हुने सामान्य बिषय ।

संसारकै मै हुँ भन्ने महान नेताले घण्टौ भाषण गर्दा उत्पन्न नहुने ऊर्जा ओझपूर्ण शैली र शब्दवाणमा उनिएका गीतको माध्यमबाट कुशल गायकले ५, ७ मिनेटमै जीउमा सिरिङ्ग हुनेगरी काँडा उमारेर जुरुक जुरुक पारिदिन सक्छन् । देश-दुनियांमा हलचल पैदा गर्न सक्छन् । बिषयवस्तु चाहे जेसुकै होस् चाहे प्रेममा पागल भएका होस् या देशप्रेमका कथामा उनिएका होस् या सामाजिक रुपान्तरणका आन्दोलनलाई ऊर्जा दिने प्रकृतिका हुन् । नेपालका ठूला ठूला आन्दोलनहरुले उचाई लिनुमा यस्तै बिशेषताप्रधान गीत-संगीतका योगदानलाई कम आंकलन गर्न सकिदैंन ।

उसो भए गायकीलाई कसरी वर्गिकरण गर्ने भन्ने प्रश्न स्वभाविकरुपमा उठ्न सक्छ । सामान्य हिसाबले भन्नुपर्दा गायकी तीन प्रकारले गरिन्छ । पहिलो त ब्यवसायिक गायकी नै भयो, गाएरै बाँच्नेदेखि पपुलारिटी बटुल्ने र यसको गहिराईसम्म डुबुल्की मार्दै आफ्नो शौख पूरा गर्ने तर यो यात्रा अनन्त छ । ब्यवसायिक गायक-गायिका बन्न सजिलो छैन । हल्का फुल्का गीत गाएर अहिलेको प्रतिस्पर्धात्मक बजार आकर्षित गर्न गाह्रो छ । तथापि अनवरत प्रयासले सफलताको शीखर चुमेका उदाहरण खोज्न टाढा जानुपर्दैन ।
दोस्रो भनेको गायक-गायिका बन्ने ध्याउन्नमा साधना गर्ने, माझिने, अध्ययन गर्ने, अनुसन्धान गर्ने र निश्चित समयसीमाको लक्ष राखेर त्यसमा आफुलाई खरोरुपमा उतार्ने नै हो । तेस्रो भनेको गीत-संगीतप्रति असाध्यै झुकाव, लगाव राख्ने तर रहर र शौखका लागि मात्र त्यसमा रमाउने जमात नै हो । यो जमात कुनै स्टेज पाउने लालसा र लाभका खातिर गीत-संगीतको नजिक हुन खोज्दैन बरु कुनै न कुनैरुपमा गीत र संगीतको खेतबारीलाई मलजल र उकेरो लगाउनमा उद्यत देखिन्छ ।

नेपालको सन्दर्भमा कलाकार अर्थात गायक-गायिका जन्माउन दोहोरी साँझहरुको योगदान महत्वपूर्ण छ । त्यही उनीहरुले संगीतको कखरा सिक्दै माझिन्छन्, पब्लिक फिगर बनाउँछन् अनि ब्यवसायिक बन्न पुग्छन् । उनीहरुका लागि गीत-संगीत सिक्ने प्लेटर्फमकोरुपमा पाठशालादेखि विश्वविद्यालयका काम गरिरहेका छन् मोफसलदेखि राजधानीसम्मका दोहोरी साँझहरुले ।

यति हुँदा हुँदै बिदेशको कहानी अर्कै छ, प्राथमिकता एकातिर रुची अर्कोतिर भईदिदंदा सबैका लागि शौख र रहर मौलाउन पाएका हुँदैनन् । रहर र रुचीलाई एकातिर पोको पारेर कतिपयलाई भिसा र कार्य ब्यस्तताको बन्धनभित्र बाँधिनुपर्ने अवस्था छ । तथापि फुर्सदको समय निकालेर गायन र गायकीलाई अंगाल्न तिनै पुग्छन् जो गीत-संगीतमा आनन्द भेटाउँछन् र रमाउन सक्छन् ।

भनिन्छ, अरुले कोरेको गोरेटोमा सुनको जुत्ता लगाएर हिड्नुभन्दा आफैले कोरेको गोरेटोमा खाली खुट्टा हिड्नुको मजा कति हो कति ? रुचीको बिषय नै पेशा भईदियो भने जीवन जिउन अर्थोक गर्नुपर्थेन । जीवनमा खुशी पाउन धेरै ठूलो जिनिस प्राप्त गर्नुपर्दैन । साना-साना बिषयले पनि जीवनमा धेरै खुशी दिन सक्छन् जो आफ्नो रुचीको क्षेत्रभित्र पर्दछन् । जीवनको हरेक क्षण, सुखमा दुखमा, भुरादेखि बूढासम्म, घरदेशदेखि परदेशसम्म चञ्चल मनलाई शान्त र आनन्दित बनाउन सक्ने महानशक्ति बोकेको गीत-संगीतको महिमा अपरम्पार छ ।

तथापि यो क्षेत्र पछिल्ला दिनहरुमा ब्यवसायिकताको नाममा आवश्यकता भन्दा बढि कमर्शियल हुन थालेका छन् । अर्ग्यानिक भन्दा आर्टिफिसियल हुँदै गएका छन् । लोकप्रियता र चर्चाको हुटहुटीले मानिसहरुलाई निदाउन दिएको छैन । कालजयीको नाता लोकप्रियतासंग हुन्छ । चर्चा, भ्रम, भेल र भीडको आयु छोटो हुन्छ भन्ने कुरो विश्वब्यापी मान्यता हो । उदास अनुहारमा खुशी उमार्न सानोतिनो संघर्षले पुग्दैन । नारायण गोपाल सुरुमा तबलावादक थिए, कसैले उनलाई वादनमा हैन गायनमा जादु छ भनिदिएपछि उनी गायक भएका थिए । आफुभित्र अन्तर्निहित (लुकेको) क्षमता र प्रतिभा स्वयम आफैलाई भन्दा अरुलाई थाहा हुन सक्छ । अरुको कुरा सुन्ने बानीको पनि हामीकहाँ कहिलेकाँही खडेरी देखिन्छ । भाषा, भूगोल, धर्म, लिंग, सम्प्रदायभन्दा माथि रहेको गीत-संगीतको क्षेत्र जस्तै यसमा कर्मशील सिपाहीहरु पनि त्यसरी नै भूगोल, सम्प्रदाय, राजनीति तथा दलविशेषभन्दा टाढै रहेर सबैको साझा हुन सके सुनमा सुगन्ध हुनेमा दुईमत छैन ।***

तपाईको प्रतिक्रिया