शुक्रबार, जेठ ११, २०८१
Friday, May 24, 2024

काठमाडौँ  – प्राचीन सहर दोलखा बजारमा रहेको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा बिहीबार पसिना आएको छ। भीमेश्वरको शिलामा पसिना आउनुलाई राष्ट्रमा अनिष्ट हुने सूचकका रूपमा हेरिने जनविश्वास भएकाले राष्ट्र प्रमुखले क्षमा पूजा गर्ने र सरकारका तर्फबाट बलि पूजा पठाउने चलन छ।

बिहीबार बिहान ६ः२५ देखि ८ः३० सम्म दुई घण्टा मन्दिरको शिलामा पसिना आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बिहान मन्दिरभित्र पूजा गर्न पसेका मुल पुजारी काशीनारायण श्रेष्ठले भीमेश्वरको शिला एक्कासी कालो र चम्किलो बनेर दायाँ र बायाँ भागबाट मानिसकै जसरी पसिना चुहिन थालेको देखेपछि वडाध्यक्ष विराजमान श्रेष्ठसहित स्थानीय र गुठियारहरूलाई खबर गरेका थिए। मन्दिर भीमेश्वर नगरपालिका–२ मा अवस्थित छ।

प्रत्यक्षदर्शीका अनुसार भीमेश्वरको कालो शिलाबाट पसिना आउँदा चम्किलो भएको थियो र पसिना तप–तप खसेको थियो। सुरुमा शिलाको दायाँ र बायाँपट्टिको माथिल्लो भागबाट पसिना खसेको वडाध्यक्ष श्रेष्ठले बताए। ‘खबर भएपछि हामी पुग्दा सुरुमा दायाँ र बायाँबाट पसिना बग्न सुरु गरेको थियो,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘त्यसपछि बायाँ भागबाट मात्र २ घण्टा सम्म रोकिदै आउदै गरिरह्यो’।

पसिना आए लगत्तै मन्दिर पुगेका स्थानीय भरतनारायण प्रधानका अनुसार गुठियारहरू समेत बसेर चम्मर, मंयुरको प्वांख लगायतले सिलालाई हम्कीने गरेका थिए। पसिना आउन्जेल मन्दिरका घण्टा लगातार बजाईएको थियो। पसिना आएको अवधीभर ब्राम्हणहरूले एकाहोती रुद्री र चण्डी समेत पाठ गरेका थिए।

पसिना आएको खबर लगतै सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा सहितका सुरक्षा अधिकारीहरू मन्दिर पुगेका थिए। जिल्लाका विभिन्न भागबाट ठुलो संख्यामा दर्शनार्थीहरू मन्दिरमा जम्मा भएका थिए। शिलामा आएको पसिना कपासले पुछ्ने चलन छ। पसिना पुछिएको कपास घरमा राख्दा मनले चिताएको कुरा पुग्ने जनविश्वास छ। पसिना पुछिएको कपास महाप्रसादका रूपमा राष्ट्र प्रमुख र सरकार प्रमुखलाई पठाईने र सर्वसाधारणलाई बाडिने चलन छ।

तपाईको प्रतिक्रिया