बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोबोटमार्फत यात्रुलाई सेवा दिन थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री योगेश भट्टराईले बिहीबार एक कार्यक्रमबीच रोबोट सेवाको उद्‌घाटन गरेका हुन् ।

‘पर्यटन परी’ नाम दिइएको दुई वटा रोबोटहरुले विमानस्थलमा यात्रुलाई अभिवादन गर्ने काम गर्नेछन् । त्यस्तै रोबोटमा सेट गरिएअनुसारका सूचना टच स्क्रिनमार्फत उपलब्ध गराउनेछन् । रोबोटहरु विमानस्थलको आगमन र प्रस्थान कक्षमा राखिने छ ।

रोबोटहरुले अंग्रेजी र चिनियाँ भाषामा संवाद गर्ने र पर्यटकहरुलाई नेपालका पर्यटन गन्तव्य भिसा प्रक्रियालगायतका विषयमा जानकारी गराउनेछन् । रोबोट सेवाको उद्‌घाटन गर्दै मन्त्री भट्टराईले विमानस्थल प्रविधिमैत्री र आधुनिक बन्दै गएको बताए । उनले यात्रुहरुलाई विमानस्थलको भिन्दै पहिचान दिने र नेपाल पनि प्रविधिमा फड्को मार्दैछ भन्ने सन्देश दिने बताए ।

मन्त्री भट्टराईले रोबोट सेवा प्रभावकारी भएमा निर्माण हुादै गरेका अन्य अन्तर्राष्ट्रिय विमानस्थलमा समेत स्थापित गर्ने बताउनुभयो । रोबोटको सञ्‍चालन मन्त्रालय, नेपाल भ्रमण वर्ष सचिवालय, नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्‍डयन प्राधिकरणको संयुक्त प्रयासमा गरिएको हो । प्रतिरोबोट २० लाख रुपैयाँ लागत रहको छ ।

तपाईको प्रतिक्रिया